भूमिश्वरको स्पष्टिकरण : विमलालाई इच्छानुसार नै मुख्यमन्त्री निवास पुर्‍याएको हो


२१ श्रावण २०७८, बिहीबार
Bhumi Bimala oli

रुपन्देही, २१ साउन । एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद विमला खत्रीलाई उनकै इच्छानुसार मुख्यमन्त्री निवास पुर्‍याइएको स्पष्टिकरण दिएका छन् ।

सम्पर्कविहीन भएकी सांसद खत्रीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई सचेतक ढकाल र नेता मानबहादुर रावतले अपहरण शैलीमा बुटवल ल्याएको पत्रकार सम्मेलनमा बताएकी थिइन् । सांसद खत्रीको कुरा सार्वजनिक भएको केही समयै एमाले सचेतक ढकालले प्रदेश सभा सदस्य खत्रीकै इच्छा अनुसार आफूहरूले दाङबाट मुख्यमन्त्रीको निवास बुटवल ल्याएको दाबी गरेका छन् ।

सचेतक ढकालले सांसद खत्रीलाई जबरजस्ती हस्ताक्षर गराउन नलगाई सल्लाह अनुसार एमालेमै फर्किएको विज्ञप्ति सार्वजनिक गरिएको बताए । पत्रकार सम्मेलनमा सांसद खत्रीले आफूलाई एमाले प्रमुख सचेतक ढकाल लगायतले जबरजस्ती मुख्यमन्त्री निवास पु¥याएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको सुनाएकी थिइन् ।

यस विषयमा प्रमुख सचेतक ढकालले सांसद विमलालाई दाङबाट मुख्यमन्त्रीको निवास बुटवल ल्याएको स्वीकार गर्दै, इच्छा अनुसार भएको तर जबरजस्ती नभएको बताएका छन् । ढकालले बुटवल ल्याउँदा, एक्कै नलिएको साथमा उनका आफन्त समेत सँगै आएको स्पष्टीकरण दिएका छन् ।

विमलाको भनाइबारे ढकालको प्रतिक्रिया यस्तो छ :

विमला जीलाई दाङका पार्टीका साथीहरुले लोकल्ली हाम्रो पार्टीमा आउनुस् भन्नु भएको थियो । त्यसो भए भूमिश्वरजीलाई बोलाइदिनुस् भन्नुभएछ । मलाई बोलाएपछि म उहाँको घरमा गएँ । घरमा उहाँसँग, उहाँको आमासँग कुरा गरियो । त्यसपछि उहाँले त्यसो भए मुख्यमन्त्रीलाई भेटेर कुरा गर्छु भन्नुभयो ।

अनि हामी बुटवल जान भनेर हिंड्यौं । बुटवल आउने बेला हाम्रो गाडीमा उहाँमात्रै हुनुहुन्थेन । उहाँको आमा र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । इमिलिया पुगेर खाना खायौं । त्यसपछि बुटवलतर्फ लाग्यौं । उहाँलाई जबर्जस्ती ल्याइएको होइन । उहाँ बोल्नै नसक्ने बच्चा होर जबर्जस्ती उठाएर ल्याउनलाई ? घरपरिवार समेतको सल्लाहमा, सहमतिमा, नयाँ कपडा लगाएर, झोला भिरेर हिंड्नु भएको थियो ।

हामीले मुख्यमन्त्री निवासमा पुर्याऔं । राजीखुसीले विज्ञप्ति बनाउनुभयो र हस्ताक्षर गर्नुभयो । सभामुखलाई र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाममा पनि चिठी लेखेर हस्ताक्षर गर्नुभयो ।

मुख्यमन्त्रीको निवासमा बसेर सबै कुरा मिलिसकेपछि उहाँलाई होटलमा बसौं भन्ने कुरा भयो । तर उहाँले होइन, होटलमा किन बस्नुपर्यो र यहिं बस्छु, उहाँ (मुख्यमन्त्री शंकर पोखरेल) हाम्रो अभिभावक हो, दाङकै नेता हो भन्नुभयो । हामीले यहाँ बस्दा अप्ठ्यारो लाग्ला भनेर सरस्वती जीलाई सँगै राखेको हो । सरस्वती जी पनि दाङकै नेता हो, माननीय हो । मुख्यमन्त्रीको निवासमा आउने, बस्ने गर्नुहुन्छ । उहाँले आज गरेको पत्रकार सम्मेलनमा भनेका कुराको जवाफ हामीले पनि पत्रकार सम्मेलन गरेरै दिन्छौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७