‘ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया धकेलियो’


२२ श्रावण २०७८, शुक्रबार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, २२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको बताएका छन् ।

आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठकमा बिहीबार नेपालले भने, ‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नु हुन्छ । त्यसले गर्दा विश्वासको वातावरण बनेको छैन, सहमति पनि खण्डित भएको छ । केही विषयमा सहमति भएका छन् तर धेरै विषयमा सहमति भएको छैन’, उनले भने ।

सहमतिको प्रस्ताव आएकै बेला काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्षले माधव नेपाल राष्ट्रद्रोही हो भनेको प्रसंग उल्लेख गर्दै नेपालले थपे, ‘एक दिनअघि प्रस्ताव गर्ने, भोलिपल्ट अर्कै भाषण गर्ने कुराले परिस्थिति बिगारेको छ । अध्यक्षको प्रस्ताव आएको छ तर केही पनि टुंगो लागेको छैन । उनी नजिकका नेताहरू त्यो हुन्न भनिरहेका छन् ।’ नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म ओलीसँग झुक्न नहुने बताए । उनले पार्टीभित्रको विवाद मिलाउने मुख्य जिम्मेवारी अध्यक्षको नै भएको बताए ।

नेपालले साउन २४ अघि नै सहमति कायम गर्न कार्यदलमा रहेका नेताहरूलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन् । ‘२४ गते केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुनिएको छ । हामीले के गर्ने, त्यसअघि नै निष्कर्ष निकालेर अघि बढ्नुपर्छ’, नेता नेपालले भने ।

उनले एकताको प्रयास दुवै पक्षबाट भएको बताए । ‘हामी सबै एकताको प्रयासमा छौं । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ । ‘एकताकै लागि केपी ओलीका मान्छेहरू पनि आएर मसँग बारम्बार छलफल गर्छन् तर सहमतिमा भने पुगिएको छैन’, नेपालले भने ।
उनकै भनाइमा टेकेर केन्द्रीय सदस्य ठाकुर गैरेले चैतमा भएको कार्यकर्ता भेलाले लिएको निर्णयमा कुनै फेरबदल नआएकाले त्योभन्दा बाहिर जान नहुने बताए । ‘गत चैतमा गरिएको कार्यकर्ता भेला, त्यसपछिको केन्द्रीय कमिटी बैठकले दिएको निष्कर्षकै जगमा हामी छौं । त्यो आजसम्म फेरिएको छैन । हामी त्यही ठाउँमा भएका कारण पार्टीलाई विभाजन गर्ने कुरा कहीं छैन’, उनले भने ।

केन्द्रीय सदस्य अरूण नेपालले एमाले देशकै सर्वाधिक ठूलो र संगठित शक्ति भएको बताउँदै यो शक्ति फुट्यो भने यसबाट एमालेमात्र नभई सिंगो राजनीतिक क्षेत्र प्रभावित हुने बताए । ‘पहिलो असर संविधानमा पर्छ । हामी फुट्दा, कमजोर हुँदा लोकतन्त्र, गणतन्त्रविरोधीले संविधानमाथि आक्रमण गरेर ध्वस्त बनाउने कोसिस गर्छन् । दोस्रो, विशिष्ट कारणले सत्ता कांग्रेसको हातमा गए पनि सर्वाधिक ठूलो शक्ति वामपन्थी मिले भने सत्ता उनीहरूकै हातमा हुन्छ र वामपन्थीले जे भन्छन्, त्यही हुने अहिले पनि स्थिति छ ।

वामपन्थीमध्येको ठूलो शक्ति एमाले फुट्दा वाम शक्ति कमजोर हुन्छ र त्यो स्पेसमा अगाडि आउने दक्षिणपन्थी शक्तिले देशलाई दुर्घटनामा लैजान सक्छन्’, उनले भने । उनले दस बुँदे प्रस्ताव दुवै पक्षको सम्झौता भएकाले चित्त दुखाउनुपर्ने कुनै कारण नभएको बताउँदै यसैलाई आधार बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले दुई अध्यक्षको प्रस्ताव विधान संशोधन गरेर कार्यान्वयन गर्नुपर्ने बताए ।

विजय पौडेलले प्रतिगमन गल्ती थियो भनेर स्वीकार गर्नुपर्ने बताए । उनले एकता गर्दा पावर सेयरिङमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । रामकुमारी झाँक्रीले एकता आत्मसम्मानसहितको नभए त्यसको अर्थ नहुने बताइन् । ‘पार्टी एकताको विषय महत्वपूर्ण हो तर आत्मसम्मान त्यागेर एकता सम्भव छैन’, उनले भनिन् । उनले कार्यदलका सदस्यहरूप्रति आक्रोश व्यक्त गरिन् । ‘स्थायी कमिटीका नेताहरूले कहाँ गएर केके छलफल गर्नुहुन्छ, त्यसकै आधारमा भएका सबै निर्णय मान्य हुन्छन भन्ने छैन ।

हामी आफ्नै समूहभित्र एकताबद्ध हुनुपर्छ । समूहभित्र पनि लोकतान्त्रिक प्रक्रिया अवलम्बन हुनुपर्छ । नत्र निर्णय स्वीकार्य हुँदैन । एकता प्रक्रियाका विषय र अजेन्डामा स्थायी कमिटी सदस्यहरूको रायका आधारमा मात्रै चल्ने काम बन्द गरौं’, उनले भनिन् । पहिलो दिनको बैठकमा झपट रावल, बलराम बाँस्कोटा, सावित्रा भुसाल, शेरबहादुर केसी, अनु नेपाल, चूडामणि जंगली, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतले पनि बोलेका थिए । उनीहरूले सम्मानजनक एकताका पक्षमा धारणा राख्नै एकताको पहल गर्ने जिम्मा अध्यक्ष ओलीकै भएको बताएका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७