श्वेतपत्र र साझा न्यूनतम कार्यक्रमपछि मात्रै मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी


२२ श्रावण २०७८, शुक्रबार
bank

काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ र अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्ने श्वेतपत्रपछि मात्रै मौद्रिक नीति ल्याउने भएको छ ।

राष्ट्र बैंकले अर्थ मन्त्रालयको ग्रिन सिग्नलपछि नयाँ बजेट नकुरी साउन तेस्रो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर, सरकारले यसै साता साझा न्यूनतम कार्यक्रम ल्याउने र श्वेतपत्र पनि सार्वजनिक गर्ने तयारी गरेपछि मौद्रिक नीति पुनः पछि धकेलिएको हो । अब साउन अन्तिम साता मात्रै मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक उच्च स्रोतले बतायो ।

सरकारकै आग्रहअनुसार राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्था देखाउने श्वेतपत्र र ‘साझा न्यूनतम कार्यक्रम’ आएपछि मात्रै मौद्रिक नीति ल्याउने भएको हो । ‘नयाँ बजेट आउने वा नआउने ? आएमा कहिलेसम्म आउने ? भन्नेलगायत कुराको टुंगो लागेको छैन, यस्तो सन्दर्भमा बजेट कुर्न सकिँदैन भनेर यसै साता मौद्रिक नीति ल्याउने तयारी गरिएको थियो,’ स्रोतले भन्यो, ‘तर, राष्ट्र बैंक सञ्चालकहरूबीच नयाँ बजेट नकुरे पनि सरकारको साझा न्यूनतम कार्यक्रम र श्वेतपत्र कुर्ने अनौपचारिक सहमति भयो ।’ नयाँ सरकारको कुनै न कुनै ‘डकुमेन्ट’ पछि मात्रै मौद्रिक नीति ल्याउने स्रोतले बतायो ।

अर्थसचिव मधुकुमार मरासिनीले बुधबार मात्रै राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ लिए । नयाँ सदस्यका रूपमा सचिव मरासिनी आएपछि बिहीबार राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको थियो । बैठकले ठोस निर्णय नगरे पनि मौद्रिक नीति साउन अन्तिम साता ल्याउने अनौपचारिक निर्णय गरेको छ ।

‘सञ्चालक समेत रहनु भएका सचिव ज्यूले साझा न्यूनतम कार्यक्रम र श्वेतपत्र पर्खिंदा राम्रो भन्ने प्रस्ताव गर्नुभयो, हामीबीच पनि सोही समझदारी भयो,’ एक सञ्चालकले भने, ‘अब सरकारले साझा कार्यक्रम सार्वजनिक गरेको दुई–तीन दिनभित्र हामी मौद्रिक नीति ल्याउनेछौं ।’

मौद्रिक नीति सरेको सर्‍यै
राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७८/७९ को मौद्रिक नीति असार पहिलो साता नै ल्याउने तयारी गरेको थियो । तर, सरकार परिवर्तन भएपछि मौद्रिक नीति पर धकेलियो । नयाँ सरकारले नयाँ बजेट ल्याउने तयारी गरेपछि राष्ट्र बैंकले मौद्रिक नीति रोकेर राखेको थियो । तर, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएसँगै नयाँ बजेट तत्काल आइहाल्ने सम्भावना नदेखिएपछि २२ साउनमा मौद्रिक नीति ल्याउने राष्ट्र बैंकले तयारी गरेको थियो ।

साउन तेस्रो साता मौद्रिक नीति ल्याउने तयारी गरेको राष्ट्र बैंक पुनः पछि हटेको हो । अब साउन अन्तिम साता मात्रै मौद्रिक नीति आउने भएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यही साता मौद्रिक नीति ल्याउने सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले २२ साउन वा ढिलोमा २४ साउनभित्रै मौद्रिक नीति ल्याउने अभिव्यक्ति दिएका थिए । तर, सरकारको दबाबका कारण मौद्रिक नीति पुनः रोकिएको हो ।

साउन अन्तिम सातासम्म आउँछ : सञ्चालक
अर्थसचिव एवं राष्ट्र बैंक सञ्चालक समितिका सदस्य मधुकुमार मरासिनीले साउन अन्तिम सातासम्म मौद्रिक नीति आउने बताए । राष्ट्र बैंकले मौद्रिक नीति निर्माणलाई अन्तिम तयारी गरिरहेको भन्दै उनले सकेसम्म छिट्टै सार्वजनिक गरिने बताए ।

डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा सुझाब लिने र त्यसलाई अन्तिम रूप दिने काम अझै जारी रहेको बताए । ‘मौद्रिक नीतिलाई अन्तिम रूप दिइरहेका छौँ,’ उनले भने, ‘साउन अन्तिमसम्म सार्वजनिक गर्ने तयारी छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७