स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग, भदौं ३ गते अनसन


२२ श्रावण २०७८, शुक्रबार
Govinda kc doctor 001 l34RMbRfVZ
फाइल फोटो

काठमाडौं, २२ साउन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न सरकारसँग माग गरेका छन् । उनले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित माग राखेर आगामी ३ भदौदेखि अनसन बस्ने घोषणा गरेका हुन् । निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको डा. केसीको आरोप लगाएका छन् ।

आज (शुक्रबार) एक विज्ञप्ति सार्वजनिक गर्दै डा. केसीले कोरोना महामारीका बेला कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प नभएको बताएका हुन् ।

‘स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायीको नियुक्ति हचुवा, छिटपुट वा असावधानीपूर्वक गरिएको नभइ अरु दशौं वर्षसम्म राजनीतिमा कालो धनको भूमिका संस्थागत गर्ने र नीतिगत भ्रष्टाचार सुनिश्चित गर्ने प्रयासका रुपमा भएको छ । यस्तो प्रवृत्ति स्वास्थ्य र मेडिकल शिक्षाका लागि त घातक छ नै, देशको लोकतन्त्र र विधिको शासनका लागि झनै घातक छ,’ डा. केसीको विज्ञप्तिमा भनिएको छ ।

उनले आगामी दिनमा व्यापारी, व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई चोर बाटोबाट सांसद र मन्त्री हुने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआउने सुनिश्चित गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी प्रष्ट कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

यसका साथै आफूहरुसँग यसअघि भएका सबै सम्झौताहरु कार्यान्वयन गर्न समेत उनले माग गरेका छन् । तीमध्ये चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गर्न उनको माग छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७