ओली पक्षले भन्यो-एकता छलफलको नाममा अनन्तकालसम्म पार्टीको काम रोकिंदैन


२२ श्रावण २०७८, शुक्रबार
pradeep gyawali

काठमाडौं, २२ साउन । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एकता छलफलको नाममा पार्टीका काम अनन्तकालसम्म रोक्न नसकिने स्पष्ट पारेका छन् । माधवकुमार नेपाल पक्षले पार्टीका सबै काम रोकेर एकताको वातावरण बनाउन भनिरहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षले भने पार्टी गतिविधि रोक्न नसकिने जवाफ दिएको हो ।

विधान संशोधनमा समेट्नु पर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूको बैठकपछि ज्ञवालीले उक्त कुरा बताएका हुन् ।
नेता नेपाल पक्षले एकताका लागि पार्टी गतिविधि रोक्न माग गरेको छ तपाईंहरू के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा ज्ञवालीले भने, ‘पार्टीका नियमित काम अघि बढ्छन् । छलफलको नाममा पार्टी कामलाई रोक्ने, गतिरोधमा जाने भन्ने हुन्न ।’

स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने ज्ञवालीले बताए । पार्टी गतिविधि रोक्नुपर्ने माग एमालेको हितमा नभएको पनि उनको भनाइ थियो । सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने पनि ज्ञवालीको भनाइ थियो ।

पार्टीको विधानलाई संघीय संरचनामा कसरी लैजाने भन्नेबारे नेताहरूले सुझाव दिएको र सोहीअनुसार आगामी केन्द्रीय कमिटीको बैठकले प्रस्ताव तयार पारेर तल्लो तहका कमिटीसम्म छलफलका लागि लैजाने पनि ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७