मुस्ताङमा १८ वर्षमाथिका सबैले लगाए कोरोनाविरुद्धको खोप


२३ श्रावण २०७८, शनिबार
mustangg

मुस्ताङ, २३ साउन । गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष माथिका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार १८ वर्षभन्दा माथि उमेरका नौ हजार ५०८ जनालाई तीन प्रकारको कोरोना विरुद्धको खोप लगाइएको हो ।

कार्यालयका प्रमुख टिकाराम भण्डारीले तोकिएको उमेर समुहका शतप्रतिशत नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको जानकारी दिए । ‘छ हजार ७१५ जनालाई जोन्सन एण्ड जोन्सन र दुई हजार ४७२ जनालाई कोभिसिल्ड विरुद्धको दुई चरणको खोप लगाइएको छ,’ उनले भने, ‘भेरोसिलको पहिलो र दोस्रो डोजको खोप लगाउनेको संख्या ३३२ जना छन् ।’

रोजगार, पेशा ब्यवसाय र कामदारका रूपमा मुस्ताङ पुग्नेले पनि खोप सुबिधा पाएका छन् । अन्य जिल्ला घर भए पनि हाल मुस्ताङमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एम्बुलेन्स चालक, सरसफाईकर्मी, कर्मचारी, जनप्रतिनिधी, पत्रकार, सङ्घसंस्थाका कर्मचारी, शिक्षकले खोप लगाएका हुन् । विसं २०६८ को जनगणना अनुसार कुल १३ हजार जनसंख्या रहेको मुस्ताङमा १८ वर्षभन्दा माथिका नागरिकको संख्या नौ हजार ३६० जना छ । मुस्ताङमा २०७७ माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।

कोरोना विरुद्धको कोभिशिल्ड खोप अभियान सुरु गर्दाको अवस्था सामान्य थियो । कोभिसिल्डको दोस्रो चरण, भेरोसिल र जोन्सन एण्ड जोन्सनको खोप अभियान सफल पार्न मुस्ताङका स्वास्थ्यकर्मीले निकै सङ्घर्ष गरेका छन् ।

बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध हुने, सडक पुल बगाउने, बिद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा खोप अभियान सञ्चालन गर्न कठिनाई भएको थियो । मार्फा खोलामा असार पहिलो हप्ता बाढी आउँदा जोखिम मोलेर दुःखका साथ खोप ढुवानी गर्दै गरेका स्वास्थ्यकर्मीको तस्बिरले अन्तर्राष्ट्रियस्तरमा चर्चा समेत पाएको थियो ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ठाउँ-ठाउँमा भरियालाई बोकाएर खोप ढुवानी गरिएको थियो भने खोलामा ट्याक्टरमार्फत खोप तारिएको थियो । खोप अभियान पूरा भएसँगै मुस्ताङका कतिपय शैक्षिक संस्थामा भौतिकरूपमै पठनपाठन सञ्चालन हुन थालेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७