दार्चुला घटना : छानबिन टोली धामीको घरमा, दोषी एसएसबीलाई कारबाही र क्षतिपूर्ति दिन परिवारको माग


२३ श्रावण २०७८, शनिबार
Darchula Ghatna Helicopter

काठमाडौं, २३ साउन । एसएसबीले तुइनको डोरी फुकाई दिएपछि जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न बनाइएको सरकारी टोली शुक्रबार हेलिकोप्टरमा व्याँस गाउँपालिका– २ मालगाउँ गएको छ । टोलीले तुइन राखिएको नेपालपट्टिको भाग अवलोकन गर्नुका साथै पीडित परिवारसँग भेट गरेको छ ।

टोलीले घरमै आएर पारिवारिक अवस्थादेखि वारिपारि (नेपाल–भारत) को सम्बन्धलगायत विषयमा जिज्ञासा राखेको बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताए । ‘सरकारी टोली घरमै आएर सोधपुछ गर्दा हामीलाई पनि अनुसन्धान राम्रो गर्लान् कि भन्ने आशा पलाएको छ,’ उनले भने ।

सरकारी टोली घरमा पुग्दा पीडित परिवारमा रुवाबासी चलेको थियो । बेपत्ता जयसिंहकी पत्नी राजन्ती भक्कानिएकी थिइन् । उनीहरूले दोषीमाथि कडा कारबाही हुनुपर्ने र आफूहरूले न्याय पाउने माग राखेका छन् । ‘भाउजूले श्रीमान्लाई महाकालीमा बेपत्ता बनाउने एसएसबीमाथि कडा कारबाही हुनुपर्छ भनेर भन्नुभयो । नाबालक छोराछोरीको पालनपोषण र शिक्षादीक्षाबारे पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो,’ नरेन्द्रसिंहले भने ।

जयसिंह बेपत्ता भएको चार–पाँच दिनसम्म केही नखाएकी राजन्ती अहिले थोरै खान थालेकी छिन् । घरमा सान्त्वना दिन छिमेकी र इष्टमित्र आउने क्रम जारी छ । ‘मान्छे देख्ने बित्तिकै रोइहाल्छिन्,’ बेपत्ता जयसिंहका दाइ हरकसिंह धामीले भने ।

मालगाउँ पुगेको सरकारी टोली दुई समूहमा बाँडिएको थियो । समितिका संयोजक सहसचिव जनार्दन गौतम र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेशका एआइजी पुरुषोत्तम कँडेलले जयसिंहको घर पुगेर परिवारसँग भेटघाट गरेका थिए ।

त्यस्तै, समितिका सदस्य राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्रका एसएसपी सुरेशकुमार श्रेष्ठको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो । समितिकी सदस्य एवं दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट जोशी भने हेलिकोप्टरमा ठाउँ नभएपछि मालगाउँ जान सकिनन् ।

टोलीले बिहीबार एसएसबीको सुरक्षामा भारतपट्टि तुइन लगाएको ठाउँको निरीक्षण गरेको थियो । सरकारी टोली भारतपट्टि निरीक्षण गरिरहँदा नेपालपट्टि पीडितको कुरा सुन्न गाउँमै आउन माग गर्दै स्थानीयले नाराबाजी गरेका थिए । त्यसअघि छानबिन टोलीले घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामीसँग सदरमुकाम खलंगामै बयान लिएको थियो । गत १५ साउनमा खलंगा आउने क्रममा तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकाइदिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए ।

पीडित परिवारलाई आर्थिक सहयोग
बेपत्ता जयसिंह धामीको परिवारलाई शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट ४१ हजार रुपैयाँ आर्थिक सहयोग भएको छ । शुक्रबार सरकारी छानबिन टोलीका संयोजक सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई १० हजार सहयोग गरेका छन् ।

त्यस्तै, व्याँस गाउँपालिकाले २५ हजार, विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव भरत मल्लले पाँच हजार र सशस्त्र प्रहरीका नरेन्द्र बडालले एक हजार सहयोग गरेका छन् । बेपत्ता धामीका एक छोरा, एक छोरी र श्रीमती छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७