आफैले होटेलमा लगेको युवतीको मृत्यु भएपछि युवक फरार, घटना शंकास्पद


२३ श्रावण २०७८, शनिबार

नवलपरासी, २३ साउन । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीको होटेल शाही प्यालेसमा आफूसँगै गएकी युवतीको अचानक मृत्यु भएपछि युवक फरार भएका छन् ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ शान्ति टोल निवासी करिब १८ वर्षीय युवक अजयराज भरले होटेल लगेकी युवतीको अचानक निधन भएपछि फरार भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।
प्रहरीले होटल मालिक ४५ वर्षीय भोजबहादुर थापा र युवक अजय राजभरका काका २८ वर्षीय ब्यासप्रसाद भर र उनले प्रयोग गरेको लु ४ प ८१७६ नम्बरको होण्डा साइन मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार ती युवकले युवतीलाई साँझ ६ बजे होटेल पुर्‍याएकोमा साढे ६ बजे अचानक विरामी भएपछि अटोमा बर्दघाटको चौपत्तामा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा राति ८ बजे पुर्‍याएका थिए । अस्पतालमा पुग्नसाथ स्वास्थ्यकर्मीले ती युवतीलाई मृत घोषणा गरेका थिए ।

अन्दाजी १७ वर्षीया युवतीको पहिचान खुलाएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अत्यधिक रक्तश्राव भएपछि युवतीको निधन भएको देखिन्छ । प्रहरी नायव उपरीक्षक गिरीले घटना शंकापद रहेको र किशोरीको निधन पनि शंकास्पद देखिएकाले घटनाको अनुसन्धान अगाडि बढाइएको बताए । किशोरीको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल जिल्ला अस्पताल परासीमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७