भूमिहीनलाई प्रक्रियागत रुपमा जग्गाको स्वामित्व दिन सरकार तयार छ : गृहमन्त्री खाँण


२३ श्रावण २०७८, शनिबार
Balkrishna khad 1

काठमाडौं, २३ साउन । सरकारले भूमिहीनलाई प्रक्रियागतरुपमा जग्गाको स्वामित्व दिन सरकार तयार रहेको बताएको छ । नागरिकलाई मालिक बनाउने हकमा कुनै दुविधा नभएकाले प्रक्रिया पूरा गरेर उनीहरुलाई पूर्जा वितरण गर्न चाहेको गृहमन्त्री बालकृष्ण खाँणले बताए ।

‘भूमिहीनलाई उचित समयमा लालपूर्जा दिन चाहान्छौं त्यसका लागि सरकार कटिबद्ध छ, छुटेका विषयलाई पनि संशोधन गरेर आयोग चाँडै बन्नेछ, आयोगले अविलम्ब काम प्रारम्भ गर्नेछ । यो विषयमा सरकार अत्यन्तै संवेदनशील र गम्भीर छ’, उनले भने, ‘नागरिकलाई मालिक बनाउने हकमा कुनै दुविधा नभएकाले हामी प्रक्रिया पूरा गरेर उहाँहरुलाई पूर्जा वितरण गर्न चाहन्छौं ।’

विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमी कमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जानकारी दिए ।

‘अघिल्लो सरकारले गरेको आयोग गठनमा केही प्रक्रियागत, कानूनी र प्राविधिकरुपमा कमी कमजोरी रह्यो, यसलाई परिमार्जन र परिस्कृत गरी हामी प्रक्रिया अघि बढाउन र भूमिहीनलाई जग्गाको स्वामित्व दिन चाहन्छौं,’ गृहमन्त्री खाँणले भने, ‘सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ । यसबाट कोही पनि नछुटुन् । सबैलाई सम्बोधन गर्न सकियोस् भन्ने सरकारको सदासयता र चाहना हो ।’

उनले संविधानको मौलिक अधिकारमै भूमिहीन र दलितलाई यी कुराको सुनिश्चिता गरेकाले सरकारले संविधान र प्रक्रियागतरुपमा नागरिकका सरोकारका विषयलाई सम्बोधन गर्न प्रतिबद्ध बताए । गृहमन्त्री खाँणले भने, ‘भूमिहीनसँग सम्बन्धित समस्या समाधानसँग सम्बन्धित सबै सरोकारवाला सबैलाई हामी आग्रह गर्न चाहन्छौं यो विषयमा आत्तिहाल्ने र राजनीतिकरण गर्नुपर्ने अवस्था छैन ।’

उनले संविधानले भूमिहीन र दलितलाई एक पटकका लागि जग्गा दिने र बसोबासको व्यवस्था गर्ने तथा अन्यलाई पनि उचित बसोबासको व्यवस्था र जग्गा प्रदान गर्ने कार्यमा आधारशीला तयार गरेको उल्लेख गरे । आयोग गठनका सन्दर्भमा देखिएका कमी कमजोरीलाई सुधान गर्न सरकारले आयोग विघटन गर्नुपरेको जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७