भारतीय जङ्गलमा हत्या गरी फ्याँकिएको अवस्थामा नेपाली युवकको शव फेला


२४ श्रावण २०७८, आईतवार
death

कञ्चनपुर, २४ साउन । कञ्चनपुरको सीमावर्ती गाउँ ब्रह्मदेवका एक युवकको हत्या भएको छ । २० साउनदेखि घरबाट सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २० वर्षीय कमल ओडको हत्या भएको हो । उनको हत्या गरेर भारतीय जंगलमा फ्याँकिएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

चार दिनदेखि हराएका कमलको खोजीका लागि परिवारले ब्रह्मदेव प्रहरीमा निवेदन दिएका थिए । उनी टनकपुरमा निर्माण भइरहेको नहरमा मजदुरी गर्दै आएका थिए । २० साउन राति ८ बजे घरबाट खाना खान जान्छु भन्दै हिंडेको कमलका दाजु बलवीर ओडले बताए । ‘मैले भाइलाई बजारबाट तरकारी लिएर आउनु भनेको थिएँ, तरकारी ल्याएपछि भात खान जान्छु भनेर बजार गयो, त्यो दिन ऊ फर्केन,’ उनले भने ।

पहिलो दिन साथीभाइको घरमा गएको होला भनेर घर परिवारले वास्ता नगरेको बताउँदै बलवीरले दोस्रो दिन प्रहरीमा खोजीकार्यका लागि निवेदन दिएको बताए । ‘पहिलो दिन भाइ घर फर्केन, दोस्रो दिन निवेदन दिएँ, तेस्रो दिन जंगल गएका गोठालाले चम्पल देखेर गाउँमा खबर गरे,’ उनले भने, ‘खोजी गर्दै जाँदा चप्पल र पर्स भेटियो, छेउमै झाडीभित्र भाइको शव भेटियो, खुट्टामा धारिलो हतियार प्रहार गरी घाइते बनाएको देखिएको छ । कसैले नदेख्ने ठाउँमा शव व्यवस्थापन गरेको पाइयो, यो हत्या नै हो ।’

कमलका अर्का दाजु गणेश ओडले भाइको बीभत्स तरिकाले हत्या भएको भन्दै घटनाको सत्यतथ्य खोजबिन गरेर दोषी पत्ता लगाउन माग गरेका छन् । ‘भाइको कसैसँग दुष्मनी थिएन,’ उनले भने, ‘तर, ठूलो रिसइबी भएको जस्तो गरी कसले किन यसरी हत्या गरेर जंगलमा फ्याँकिदियो, थाहा हुन सकेको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७