‘ओलम्पिकमा यौनलाई रोक्न सकिँदैन’


२४ श्रावण २०७८, आईतवार

काठमाडौं, २४ साउन । संसारभरका ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको ३२औं गृष्मकालिन टोकियो ओलम्पिक आइतबार सम्पन्न हुँदैछ । विश्वका दुई सय पाँच देशका ११ हजारभन्दा बढी खेलाडीले ३३ खेलमा तीन सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

दुई साताभन्दा बढीको समयमा जापान खेलकुद महाकुम्भमा मात्र झुमेन, खेलाडीबीचको प्रेम र सम्बन्धका कारण पनि चर्चामा रह्यो । जापानले टोकियो ओलम्पिकमा सहभागी खेलाडी, प्रशिक्षक र अफिसियलका लागि छुट्टै प्रकारको बेड निर्माण गरेपछि त्यसले भिन्न किसिमले चर्चा पायो ।

पुनः प्रयोग गर्न मिल्ने सामग्रीबाट खेलाडी, प्रशिक्षक र अफिसियलका लागि बेड निर्माण गरिएको थियो । कार्डबोर्डबाट बनेको बेडमा प्लास्टिकबाट बनेको गद्दा बिछ्याइएको छ । ओलम्पिक र पारा ओलम्पिक सम्पन्न भएपछि बेड र गद्दालाई अन्य विभिन्न काममा पुनः प्रयोग गरिने छ ।

आयोजकले टोकियो ओलम्पिकका लागि १८ हजार र पारा ओलम्पिकका लागि आठ हजार बेड आवश्यक पर्ने जनाएका छन् । हेर्दा आकर्षक र आरामदायी सिंगल बेड नौ बर्गमिटर र डबल्स बेड १२ बर्गमिटरको छ । सिंगल र डबल्स दुवै बेडमा यौन सम्पर्क गर्न भने मिल्ने छैन । ओलम्पिक भिलेजका बेडहरू ‘एन्टी सेक्स’ रहेकाले यौन सम्पर्क गर्न नमिल्ने आयोजकले जनाएका छन् । कार्डबोर्डबाट बनेको बेडमा बढी हलचल गर्न नमिल्ने र एक जनाको मात्र भार थेग्न सक्ने खालको रहेको जनाइएको छ । यसले खेलाडीहरूबीचको निकटतालाई रोक्ने आयोजकको दाबी छ ।

तर, विगत तीन दशकदेखि ओलम्पिक खेलकुदमा खेलाडीको प्रदर्शन र सफलता मात्र होइन, यौनका विषयले पनि उक्तिकै चर्चा बटुल्दै आएको छ । सन् १९८८ को सोल ओलम्पिकमा एचआईभी एड्स रोकथामका लागि भन्दै पहिलो पटक कन्डम बाँडिएको थियो । त्यतिबेला एड्स रोग उत्कर्षमा रहेकाले सचेतनाका लागि आठ हजार पाँच सय थान कन्डम बाँडिएको थियो ।

त्यसपछिका ओलम्पिकमा पनि कन्डम बाँड्ने प्रचलनले निरन्तरता पायो । अहिले जापानमा जारी टोकियो ओलम्पिकमा पनि डेढ लाखभन्दा बढी कन्डम वितरण गरिएको थियो । सन् २०१६ को रियो ओलम्पिकमा त झन् साढे चार लाख कन्डम वितरण गरिएको थियो । आयोजकले एचआईभी एड्सका बारेमा जागरुकता बढाउन र ओलम्पिकको चिनोका रुपमा डेढ लाख बढी कन्डम बाँडिएको दाबी गरेको छ । टोकियो ओलम्पिक आयोजकले खेल अवधिभर संयमता अपनाउन पनि खेलाडीलाई आग्रह गरेको छ ।

तर, ओलम्पिकमा सहभागी केही पूर्व खेलाडीहरूले भने जस्तोसुकै तरिका अवलम्वन गरे पनि ओलम्पिक भिलेजमा सेक्सलाई रोक्न नसकिने जनाएका छन् । उनीहरूले जस्तोसुकै तरिका अपनाए पनि वा जतिसुकै प्रतिबन्ध लगाए पनि ओलम्पिकमा सेक्स र सोसल डिस्ट्यान्सिङ ‘ओपन सेक्रेट’ जस्तै रहेको दाबी गरेका छन् । उनीहरूले केही समय पहिले ओलम्पिक भिलेजको छत, बाथरुम र बाहिरी झाँडीमा समेत प्रयोग गरिएको सयौं कन्डमहरू फेला परेको घटनाले ओलम्पिकलगायतका ठूला पर्वमा सेक्सलाई बन्देज गर्न नसकिने निष्कर्ष निकालेका हुन् ।

जर्मनीकी पूर्व एथलेटिक्स खेलाडी सुसान टाइडटेकले ओलम्पिक भिलेजमा यौन क्रियाकलाप नहुने भन्ने हुनै नसक्ने बताएकी छन् । उनले जर्मनीको अखबार वाइल्डसँग कुरा गर्दै भनेकी छन्, ‘जापानले यौन क्रियाकलापमा गरेको प्रतिबन्ध सुन्दा हाँसो उठ्छ । यस्तो प्रतिबन्धले कहिले पनि काम गर्दैन ।’ उनले सेक्स ओलम्पिक भिलेजको संधै मुद्दा बन्दै आएको पनि बताइन् ।

‘हरेक खेलाडी ओलम्पिकमा आफ्नो उच्च फर्ममा हुन्छन् । उनीहरूले विश्वस्तरीय प्रतियोगिताका लागि ठूलो मेहनत र परिश्रम पनि गरेका हुन्छन्’, उनी भन्छिन्, ‘यस्तोमा खेलपछि इनजर्धी रिलिज गर्नुपर्ने हुन्छ । ओलम्पिककै दौरान धेरै पार्टी चलिरहेका हुन्छन् । यस्तो पार्टीमा मदिराको खपत पनि धेरै नै हुन्छ ।’ यसैगरी टेबुलटेनिसका पूर्व स्टार म्याथु सइदले पनि ओलम्पिक भिलेजमा यौन क्रियाकलापलाई रोक्न नसकिने बताए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७