प्रहरीको कुटाइबाट युवकको ज्यान गएको भन्दै प्रदर्शन


२४ श्रावण २०७८, आईतवार
thumb 5

सिन्धुपाल्चोक, २४ साउन । चोरीको आरोपमा समातिएका बाह्रबिसे नगरपालिका–७ घुम्थाङका ३२ वर्षीय बसेला तामाङ (खड्गबहादुर) को प्रहरी नियन्त्रणमै शंकास्पद मृत्यु भन्दै निष्पक्ष छानबिनका लागि पीडित पक्षले आज (आइतबार) प्रर्दशन गरेका छन् ।

काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका खड्गबहादुरको प्रहरीको कुटाइबाट ज्यान गएको बताउँदै पीडित परिवारले आइतबार बाह्रबिसे बजार परिक्रमा गरेर प्रहरीलाई ज्ञापन पत्र बुझाएका छन् । प्लेकार्ड र ब्यानरसहित पीडित परिवारले नारा लगाउँदै सडकमा प्रदर्शन गरेका थिए ।

पीडित पक्षका अगुवा युद्धविक्रम तामाङकाअनुसार धुलिखेल अस्पतालबाटै सार्वजनिक भएको तामाङको सम्पूर्ण तस्बिरमा शरीरभरी निलडाम, सुम्लैसुम्ला र केही चोट पनि देखिएको छ । ‘शंकास्पद घटनाबारे निष्पक्ष छानबिन हुनुपर्छ, जे भएको हो त्यो सत्यतथ्य बाहिर आउनुपर्छ, लुकाउन पाइँदैन, हाम्रो माग त्यही हो,’ उनले भने ।

जिल्ला प्रहरी उपरिक्षक राजन अधिकारीकाअनुसार प्रहरीको हिरासतमा रहेका बसेला तामाङको स्वास्थ्य अवस्था गएको बुधबार एक्कासी बिग्रिएपछि उपचारर्थ परिवारलाई खबर गरेर तत्कालै बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र लगिएको थियो । बाह्रबिसे प्रास्वाकेले धुलिखेल रिफर गरेपछि परिवार र केही सुरक्षाकर्मी तामाङलाई लिएर बुधबार राति नै धुलिखेल अस्पताल पुगेका थिए । बिहीबार बिहान ४ः३० मा धुलिखेल अस्पतालमा उपचारकै क्रममा तामाङको मृत्यु भएको एस्पी अधिकारीले बताए ।

प्रहरीका अनुसार बाह्रबिसे–७घुम्थाङस्थित घुम्थाङ बचत तथा ऋण सहकारी भवनको मूल ढोका फोडेर घर्राबाट खड्गबहादुरले ८१ हजार ७ सय २५ चोरेका थिए । चोरी गरिएको रकमसहित तामाङलाई प्रहरीले साउन १८ गते पक्राउ गरी इलाका प्रहरी कार्यालय बाह्रबिसको प्रहरी चौकी हिरासतमा राखेको थियो ।

‘मृत्यु के कारणले भएको हो पोष्टमार्टमपछि खुल्नेछ, प्रहरी कार्यालयमा सीसीटीभी फुटेज भएकाले त्यसमा हेर्दा पनि प्रहरीले कुटपिट गरेको देखिन्न ,’ उनले भने । पैसा चोरेको स्वीकारेका कारणले रकम सम्बन्धित पक्षलाई फिर्ता गरिएपछि पनि सोधपुछ या कुटपिट गर्नुपर्ने कुनै कारण नभएको मृतकका परिवार र आफन्तले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७