पारसको जर्सी नम्बर ७७ राष्ट्रिय टिममा प्रयोग नगरिने


२४ श्रावण २०७८, आईतवार
paras khadka11628416631

काठमाडौं, २४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको जर्सी नम्बर ७७ नेपाली क्रिकेटमा प्रयोग नगरिने भएको छ । सर्वाधिक सफल कप्तानमध्येका एक खड्काको जर्सी नम्बर ७७ प्रयोग नगर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

गएको मङ्गलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेपछि खड्काले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आइरहेको जर्सी नम्बर ७७ प्रयोग नगरिने क्यानले जनाएको हो ।

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका अलराउन्डर पारसले सन् २००९ मा नेपाली टोली सम्हाल्ने जिम्मा पाएका थिए । उनले विनोद दासको कप्तानको आर्मब्यान्ड पहिरिएका थिए । उमेर समूहका खेलबाट राष्ट्रिय टोलीसम्म ठाउँ बनाएका खड्काले बङ्गलादेशमा सन् २००४ मा भएको आईसीसी यु–१९ विश्व कप क्रिकेट खेलेका थिए ।

त्यही वर्ष मलेसियाविरुद्धको खेलमा आईसीसी इन्टरकन्टिनेन्टल कपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका खड्काले झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेर २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए । त्यसपछि नेपाली टोलीलाई ज्ञानेन्द्र मल्लले सम्हाल्दै आएका छन् ।

विश्व वरीयतामा नेपाल अहिले १२ औं स्थानमा छ । नेपालले एकदिवसीय मान्यता पाएको छ । नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा ल्याउनका लागि कप्तानको जिम्मेवारी सम्हालेका खड्का सर्वाधिक सफल खेलाडी पनि हुन् । किन भने एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय दुवैमा नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् खड्का । सन् २०१९ मा यूएईविरुद्धको खेलमा पारसले करिअरको पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए । त्यही वर्ष सिङ्गापुरविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्दै पहिलो नेपाली खेलाडी बनेका थिए ।

पारसले नेपाली टोलीबाट १० अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेका छन् । खड्काले १० खेलबाट तीन सय १५ रन जोडेका छन । त्यस्तै ट्वान्टी–२० मा ५६ खेल खेल्दा एक हजार तीन सय ७७ रन बनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७