पर्यटकीय र कमाइ हुने रुटमा उड्दैनन् नेपाल एयरलाइन्सका जहाज


२५ श्रावण २०७८, सोमबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं, २५ साउन । पर्याप्त पाइलट र उडान कर्मचारी हुँदाहुँदै पनि नेपाल वायुसेवा निगमका जहाजको उडान संख्या क्षमताको तुलनामा निकै कम रहेको छ । सीमित स्थानमा मात्रै उडान गर्ने निगमका जहाजले पर्यटकीय र कमाइ हुने रुटमा जाने तयारीसमेत गरेको छैन ।

पर्यटकीय क्षेत्र लुक्ला, जोमसोम, बझाङ, मुस्ताङ, अछाम साँफेबगर, ताप्लेजुङ र डोल्पामा नेपाल एयरलाइन्सको उडान छैन । यसअघि मुस्ताङ, डोल्पा र लुक्लामा उडान हुने गरे पनि केही वर्षयता ठप्प छ । लुक्ला र मुस्ताङमा ०६७ चैतदेखि र डोल्पामा २ वर्षदेखि उडान बन्द छ ।

निगमका दुईवटा ट्विनअटर (डिएचसी–६) जहाजले नेपालगन्ज, भोजपुर, खानीडाँडा, रुकुम, सिमिकोट, जुम्ला, बाजुरा, रारालगायतका स्थानमा निकै कम उडान गर्दै आइरहेका छन् । मासिक ५ सय घन्टा उडान गर्न सक्ने निगमका जहाज अहिले करिब २ सय घन्टा ४२ मिनेट मात्रै उड्ने गरेको तथ्यांकले देखाउँछ  तथ्यांकअनुसार निगमका जहाजले दैनिक ८ घन्टा र हप्तामा ५७ घन्टा २० मिनेट उडान गर्ने गरेको छ ।

निगमले आफ्नो उडान गन्तव्य थप गर्न नसक्दा जहाजले निकै कम उडान गर्ने गरेको निगमको इन्जिनियरिङ शाखाका पूर्वप्रमुख अच्युतराज पहाडीले जानकारी दिए । मासिक ५ सय घन्टासम्म उडान गर्ने क्षमता भए पनि कम उडान भरेर जहाज थन्क्याउने गरिएको उनको भनाइ छ । ‘केही पाइलट र कर्मचारीकै कारण निगमको उडान खुम्चिएको हो, अहिले राम्रो कमाइ र धेरै प्यासेन्जर हुने ठाउँमा निगमको उडान नै छैन, त्यो ठाउँमा निजी हवाई कम्पनी हाबी छ,’ उनले भने ।

निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकारले अन्तर्राष्ट्रिय उडान सेवामा जस्तै आन्तरिक उडानमा पनि निजी क्षेत्र भएको बताए । उनले भने, ‘निजी क्षेत्रका विमान थपिँदै गए, हामीले आन्तरिक उडानलाई प्राथमिकतामा राखेनौँ, त्यसकारण पनि सरकारी हवाई सेवा कम्पनी धरापमा प¥यो, यसको मुख्य कारण सरकार र निगम व्यवस्थापनको दोष छ ।’

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जहाज कम भएका कारण सबैतिर उडान गर्न नसकिएको बताए । निजी क्षेत्रका धेरै जहाज भएकाले धेरै उडान गरे पनि निगमको जहाज संख्या कम भएकाले कम उडान गर्नुपरेको उनको जिकिर छ । उनले भने, ‘हामीसँग थोरै जहाज छन्, जति गर्न सक्छौँ त्यति गर्ने हो, निगमले सबैतिर उडान गर्न सक्दैन ।’

निजी क्षेत्रका हवाई कम्पनीले भन्दा निगमले सस्तोमा उडान गर्दै आइरहेको छ । तर, उडान कम हुँदा दुर्गम क्षेत्रका बासिन्दा चर्को मूल्य तिरेर निजी हवाई प्रयोग गर्न बाध्य छन् । हाल निगमको ट्विनअटर जहाजमा यात्रा गर्दा नेपालगन्ज–रारा ४ हजार ८ सय ६५, नेपालगन्ज–जुम्ला ४ हजार ९ सय ९५, नेपालगन्ज–सिमिकोट ६ हजार ५ सय ९५, नेपालगन्ज–बाजुरा ४ हजार ९ सय ९६, नेपालगन्ज–रुकुम ३ हजार ३ सय ९५, नेपालगन्ज–रुकुम २ हजार २ सय, नेपालगन्ज–डोल्पा ४ हजार ८ सय ७० रुपैयाँ तिर्नुपर्छ ।

निगमका इन्जिनियरिङ शाखाका पूर्वप्रमुख पहाडीले लुक्लातिर उडान नगर्नुको कारण कर्मचारीहरू कमिसनको चक्करमा फस्नु रहेको बताए । उनले भने, ‘प्यासेन्जर निजी उडानलाई जिम्मा लगाएर निगमको जहाजलाई उडान नै गर्न दिएको छैन, मलाई याद छ, कुनै समय यती एयरलाइन्सको उडान दिनमा ३२ हुँदा निगमको २ वटा मात्रै भएका छन् । यस्तो हुनुको कारण पाइलट र कर्मचारीको मिलेमतो र बदमासी हो ।’

नेपालगन्जबाट पनि कम
नेपाल वायुसेवा निगमको नेपालगन्जमा क्षेत्रीय कार्यालय छ । त्यहाँ पाइलट र अन्य कर्मचारी बस्ने ठाउँ पनि छ । त्यहाँबाट बाजुरा, सिमिकोट, डोल्पा, रारा, बझाङ, रुकुम, जुम्ला, अछामको साँफे बगरसम्म उडान गर्न सकिन्छ । तर, निगमले नेपालगन्जबाट यी क्षेत्रमा आइतबार र बिहीबार मात्रै उडान गर्दै आइरहेको छ । नियमित उडान नगर्दा दुर्गम क्षेत्रका बासिन्दाहरू चर्को मूल्य तिरेर निजी कम्पनीबाट ओहोरदोहोर गर्न बाध्य छन् ।

खोक्रो भयो ट्विनअटर (९ एन–एबी एस) जहाज
नेपाल वायुसेवा निगमले करिब ३५ वर्षअघि ट्विनअटर (९ एन–एबी एस) जहाज खरिद गर्‍यो । उक्त जहाज क्यानडाबाट खरिद गरिएको थियो । तर, १२ वर्षअघि बिग्रिएको उक्त जहाज मर्मत भएको छैन । निगमका पूर्व इन्जिनियरिङ शाखा प्रमुख पहाडीका अनुसार त्यो जहाज १ लाखमा बनाउन सकिन्थ्यो ।

तर, भित्री पार्टपुर्जाहरू झिक्दै अहिले जहाज नै खोक्रो भइसकेको छ । ‘त्यति राम्रो जहाज उडाउँदै नउडाई थोत्रो पारियो, निगम हाँक्ने हाकिमहरूकै जहाज थोत्रो बनेको हो,’ उनले भने, ‘करिब १ अर्बमा खरिद गरिएको जहाज हाल एयरपोर्टको ह्यांगरमा थन्क्याइएको छ ।’ निगमको जिम्मेवारी सम्हालेका यसअघिका महाप्रबन्धकको कमजोरीका कारण निगम खोक्रो हुँदै गएको उनको आरोप छ ।

महँगोमा करार पाइलट, उडान थोरै तलब धेरै
नेपाल वायुसेवा निगमले ट्विनअटर जहाज उडानका लागि ५ जना पाइलट र ५ जना को–पाइलट नियुक्ति गरेको छ । जसमा ४ जना पाइलट करारका छन् । स्थायी पाइलटलाई भन्दा महँगो तलब सुविधा दिएर राखिएका ती पाइलटले निकै कम उडान गरेका छन् । नेपाल वायुसेवा निगममा ट्विनअटर जहाज उडाउने स्थायी पाइलटको तलब २ लाख ७२ हजार छ । तर, सोही जहाज उडाउन करारमा नियुक्ति गरिएका पाइलटको तलब स्थायी पाइलटको भन्दा झन्डै तेब्बर बढी छ ।

निगममा ट्विनअटर जहाज उडाउने क्याप्टेन पेम्बा शेर्पाको तलब ७ लाख २५ हजार छ । मनेस विष्टले ७ लाख १५ हजार, सुदन केसीले ६ लाख २५ हजार र रक्षित मल्लले ५ लाख २५ हजार तलब बुझ्छन् । सोही जहाज उडाउने स्थायी पाइलट उज्ज्वल सिलवालले १ लाख ९९ हजार ७ सय ३० रुपैयाँ हजार तलब बुझ्छन् । जहाजका को–पाइलटले तलब ७० हजार पाउँछन् ।

निगमले उपलब्ध गराएको तथ्यांकअनुसार यी पाइलटमध्ये अधिकांशले हप्प्तामा ८ घन्टासम्म मात्रै उडान गर्छन् । निगमका ‘कमर्सियल डिपार्ट’ प्रमुख जनक कालाखेतीले धेरैजसो ठाउँमा प्यासेन्जर नै नभएर उडान रोकेको बताए । ‘हाम्रा जहाजले धेरै उडान गर्न सक्दैनन्,’ उनले भने, ‘कोभिडपछि प्यासेन्जर संख्या पनि कम छ, त्यसले धेरै ठाउँमा उडान नभएको हो ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७