आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


२५ श्रावण २०७८, सोमबार
badhi 3

काठमाडौं, २५ साउन । आज (सोमबार) पनि नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनी वायुको प्रभावका कारण आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

वर्षाका कारण आज केही नदीहरुमा पानीको वहाब बढ्न सक्ने जनाइएको छ । कोशी, कर्णाली, कन्काई, वागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र यिनका सहायक नदीहरुमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नारायणी, महाकाली, कमला, तिनाउ, बबईलगायतमा वहाब सामान्य घटबढ हुने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको विभागको भनाइ छ । कोशी, कर्णाली र यिनका सहायक नदीहरुमा आज बहाव बढ्ने छ भने नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा वहाब सामान्य घटबढ हुने छ । यद्यपि सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

प्रदेश–१ को इलाम, झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, भोजपुर तथा प्रदेश–२ को रौतहट र धनुषाका नदी तथा खोलामा आज पानीको सतह बढ्न सक्ने जनाइएको छ । वागमती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, र चितवनमा तथा गण्डकी प्रदेशको म्याग्दी, बागलुङका नदी तथा खोलामा वहाब बढ्ने विभागले जनाएको छ ।

लुम्बिनी प्रदेशको पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, कपिलवस्तु, दाङ र बाँकेका नदी तथा खोलामा तथा कर्णाली प्रदेशको दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र हुम्लाका नदी तथा खोलामा पानीको बहाव बढ्ने छ ।

सुदरपश्चिम प्रदेशको बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव आउन सक्ने पूर्वानुमान रहेकाले सतर्क रहन विभागको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७