म्याग्दीको बेनी बजारमा विहानै भीषण आगलागी


२६ श्रावण २०७८, मंगलवार
myagdi

म्याग्दी, २६ साउन । म्याग्दीको सदरमुकाम बेनी बजारमा मंगलबार (आज) बिहान २ः४५ बजेको समयमा भीषण आगलागी भएको छ । आगलागीबाट बेनीबजारको न्यूरोडमा अवस्थित दुई पसल पूर्णरुपमा नष्ट भएका छन् भने मानवीय क्षति नभएपनि लाखौंको धन सम्पत्ति जलेर नष्ट भएको छ ।

बेनी नगरपालिका–८ स्थित न्यूरोडको रघुगंगा डेरी र नयन स्टोर्स रहेको जस्तापाताले छाएको एकतले घरमा रहेका दुई वटा पसलमा आगोलागी भएको हो । घर स्थानीय सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो । सोही घरका दुई वटा सटरमा रघुगंगा डेरी र नयन स्टोर्सले भाडा तिरेर पसल सञ्चालन गरेका थिए । आगलागीबाट दुवै पसलमा क्षति पुगेको छ । डेरी पसलबाट सल्केको आगलागी सँगै जोडिएको नयन स्टोर्समा पुगेको जनाइएको छ ।

आगलागी भएको केही बेरमा नै प्रहरीले दमकलको साहयतामा आगलागी नियन्त्रणमा लिएको थियो । अहिले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट लाखौं बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट लाखौं मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिएका छन् । आगलागी हुँदा ग्याँस सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो ।

शर्माले दिएको जानकारी अनुसार सुरुमा डेरी पसलमा आगलागी भएको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीको एकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७