देउता चढेको भन्दै सुत्केरी श्रीमतीलाई तातोपानी खन्याई अगुल्टो झोसेर यातना


२६ श्रावण २०७८, मंगलवार
1461750421mahila himsa web pic final
सांकेतिक तस्वीर

दैलेख, २६ साउन । दैलेखका एक युवाले आफ्नो शरीरमा देउता चढेको बहानामा श्रीमतीलाई चरम यातना दिएका छन् । भैरवी गाउँपालिका–५ गौरीसल्लाका दीपक नेपालीले तातोपानी खन्याउँदै अगुल्टोले झोसेर सुत्केरीपन्ती हस्तना दमाईलाई गम्भीर घाइते बनाएका छन् ।

चार महिनाकी सुत्केरी २६ वर्षीया हस्तनाको जिल्ला अस्पतालमा दैलेखमा उपचार भइरहेको छ । ‘आफूमा देउता चढेको भन्दै श्रीमानले ढाड र अनुहारमा अगुल्टो झोस्ने र तातोपानी खन्याउने गर्न थालेपछि गुहार माग्दै भागें,’ उनले भनिन् ।

घाइते उनलाई छिमेकीले उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याएका थिए । घटनाबारे थाहा पाएपछि डाँडामाडी चौकीबाट पुगेका प्रहरीले थप उपचारका लागि दैलेख अस्पताल पुर्‍याएका हुन् । हस्तनको शरीरको १३ प्रतिशत भाग जलेको दैलेख अस्पतालका डा.जगत थापाले जानकारी दिए । ‘हस्तनाको स्वास्थ्य सुधारोन्मुख र खतरामुक्त छ, उपचार यहीं सम्भव छ,’ डा. थापाले भने ।

श्रीमतीलाई घाइते बनाएर फरार भएका दीपकलाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको छ । दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार उनलाई जिल्ला अदालत दैलेखबाट १० दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ । हस्तनाकी आमा पाना दमाईले दीपकविरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिएकी छिन् । पाँच वर्षअघि विवाह गरेका उनीहरुलाई दुई सन्तान छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७