मनसुनी रेखा नेपाल नजिक, केही दिन निकै भारी वर्षाको सम्भावना


२६ श्रावण २०७८, मंगलवार
rain

काठमाडौं, २६ साउन । केही अलि मत्थर भएको वर्षा पुनः सक्रिय हुन लागेको मौसमविदले बताएका छन् । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउँदै गरेकाले वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

‘न्यून चापीय रेखा नेपालतर्फ नजिक हुँदैछ,’ मौसमविद् प्रधानाङ्गले भने, ‘बिहीबारदेखि वर्षाको मात्रा बढ्ने र केही दिन जारी हुने देखिएको छ ।’ यस विषयमा महाशाखाले सोमबार राति ८ बजे विशेष मनसुन बुलेटिन–७ जारी गरेको छ । जसमा भनिएको छ : ‘सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।’

बुलेटिनअनुसार बिहीबार प्रदेश–१, प्रदेश–२, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी÷धेरै भारी वर्षा तथा शुक्रबार र शनिबार प्रदेश–१, प्रदेश–२, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी÷धेरै भारी वर्षाको सम्भावना छ ।
महाशाखाले भनेको छ : आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणालीलाई निरन्तर अनुगमन गरिरहेकाले मौसमबारे नियमित जानकारी राख्न पनि आम नागरिकलाई अनुरोध गरिएको छ ।

महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यस्तो छ, आजदेखि ३ दिनसम्म वर्षा अनुमान :

साउन २६ गते मंगलबार (आज)
दिउँसो–
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति– केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन २७ गते बुधबार
दिउँसो–
धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति–केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र प्रदेश–२ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन २८ गते बिहीबार
दिउँसो–
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति–देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश–१, लुम्बिनी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७