बाढी–पहिरो प्रभावित मेलम्ची–हेलम्बुमा वैकल्पिक मार्गबाट गुड्न थाले गाडी


२६ श्रावण २०७८, मंगलवार
sindhupalchok helembu
फाइल फोटो

सिन्धुपाल्चोक, २६ साउन । बाढीले जिल्लाका पश्चिमी भेगका सडक, पक्की र झोलुङ्गे पुल क्षतिग्रस्त छ । गत असार १ र यसपछिका लगातारको अकल्पनीय बाढीले सडक र पुलमा क्षति पुगेपछि जिल्लाका हेलम्बु,पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका तथा मेलम्ची नगरपालिकाका विभिन्न गाउँ सडक सञ्जालबाट सम्पर्क टुटेका छन् । अहिले स्थानीय तहले वैकल्पिक सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन् ।

बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट हेलम्बु जान तत्काल दुईवटा वैकल्पिक मार्ग रहेका छन् । काठमाडौंबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने एउटा मार्ग तयार छ ।

सिन्धु हेलम्बु र आमा याङ्ग्री ह्योल्मोका बस वैकल्पिक बाटोका रूपमा नारायणटार, भोटचौर, धुसेनी, मानेभञ्ज्याङ, चापबोट, तालामाराङ बजार हुँदै तत्कालका लागि ढुङ्ग्रेबजारसम्म सञ्चालन हुने तयारी गरिएको छ । आजबाट बस बिहान ६ ,९ बजे र १२ बजे काठमाडौँबाट छुट्ने कम्पनीका सञ्चालक सुरेश श्रेष्ठले जानकारी दिए । बाटोको अवस्था राम्रो भएमा अझ बस थपिने उहाँले जानकारी दिए । त्यस्तै सोमबारबाट इन्द्रावतीको नवलपुरबाट मेलम्ची बससेवा पनि सुरु भएको उनले बताए ।

पाँचपोखरी थाङ्पालको भोटेनाम्लाङ हुँदै चौतारा–काठमाडौं जाने वैकल्पिक बाटो सफा गर्न सुरु गरिएको छ । साउन १६ को बाढी र पहिरोले मेलम्ची–भोताङ सडक र नवलपुर जाने पुल बगाएको त्यस्तै बाहुनेपाटीको पुल जोखिममा रहेकाले वैकल्पिक बाटोका रूपमा भोटेनाम्लाङ हुँदै चौतारा बाटो सफा गर्न थालिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । यहाँबाट चौतारा हुँदै काठमाडौं पुग्न सकिने छ ।

पहिरोले हेलम्बु राजमार्गको जिरोकिलो–मेलम्ची खण्डमा अवरोध भएपछि मेलम्ची नगरपालिकाले वैकल्पिक बाटो निमार्ण गर्न लागिपरेको छ । नगरपालिकाका इञ्जीनियर जीतबहादुर कार्कीका अनुसार तत्काल फटकशिलाको पहिरो पन्छाउन सम्भव नरहेकाले वैकल्पिक बाटोको निमार्ण गर्न लागिएको हो ।

यस्तै वैकल्पिकरूपमा रहेको किउल, पाल्चोक, दुवाचौर, मेलम्ची सडकको दुई ठाउँमा हिलोले यातायात सञ्चालनमा समस्या रहेकामा आजबाट सफा गरी यात्रुबस सञ्चालन तयारी गरिएको मेलम्ची नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए । सो सडक सञ्चालन हुँदा हेलम्बु–१, २, ३ मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पालका १ र २ वडाका बासिन्दा लाभान्वित हुनेछन् ।

उक्त सडकहरु सञ्चालन हुँदा पनि विभिन्न वडाका बस्ती सडक सम्पर्कबाट बञ्चित नै हुनेछन् । यसका लागि हेलम्बुबाट मेलम्चीका विभिन्न पुल र सडक, मेलम्ची, इन्द्रावती र पाँचपोखरी जोडने नवलपुर जाने र फट्टेको पक्की पुल सडक निर्माण जरुरी छ । सरकारले चनौटे र मेलम्चीको एक ठाउँमा यथाशीघ्र बेलीब्रिज हाल्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७