उपचार गर्न आएका पुरुषलाई बलात्कार गरेको आरोपमा डाक्टर पक्राउ


२६ श्रावण २०७८, मंगलवार
do

धनकुटा, २६ साउन । उपचारका लागि आएका एक विरामी पुरुषलाई बलात्कार गरेको आरोपमा धनकुटाबाट एक डाक्टर पक्राउ परेका छन् ।
बिरामी पुरुषलाई यौनहिंसा गरेको आरोपमा धनकुटा–७ मा रहेको सुवास मेडिकलका सञ्चालक डा. राज शर्मालाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पिसाबसम्बन्धी समस्याको उपचारका लागि गएका धनकुटा पाख्रिबासका ५३ वर्षीय पुरुषलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायले जानकारी दिए ।

‘बिरामीले आफूलाई शर्माले यौनहिंसा (बलात्कार) गरेको भन्दै उजुरी दिएपछि हामीले डा.शर्मालाई पक्राउ गरी अनुसन्धान शुरु गरेका छौँ,’ रायले भने । डा. शर्मा विराटनगर महानगरपालिका–१२ खरैयाका स्थायी बासिन्दा हुन् । राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले आफूलाई यौनहिंसा गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिएका छन् ।

प्रारम्भिक अनुसन्धानबाट बिरामी पुरुषमाथि यौनहिंसा पुष्टि भएको प्रहरीको भनाई छ । तर, शर्माले भने आरोप अस्वीकार गरेका छन् । उनले बिरामीले आफूलाई अभद्र व्यवहार गरेको उल्टै आरोप लगाएका छन् । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७