भिडमा बसेर राहदानी लिन बाध्य नागरिक


२६ श्रावण २०७८, मंगलवार
rahadani

काठमाडौं, २६ साउन । सेवाग्राहीहरूले सरकारले आवश्यक व्यवस्था नमिलाएको कारण कोरोना संक्रमणको बेला पनि भिडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् ।

मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरूले कोरोनाकालमा भौतिक दूरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भिडमा बसेर राहदानी लिन बाध्य हुनुपरेको प्रतिक्रिया दिएका हुन । छोरीको राहदानी लिन रुपन्देही, देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले सरकारले आफैँले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोनाकालमा पनि भिडमा बसेर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

उनले भौतिक दूरीमा बसेर काम गर्नुपर्ने नियम बनाउने सरकारले सेवाग्राहीलाई भिडमा बसेर राहदानी लिने अवस्था बनाएको भन्दै सरकारको आलोचना गरे । गुरुङले प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।

यस्तै, धनुषाबाट आएका धीरेन्द्रकुमार साहले दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गरे । उनले कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दूरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरु अलमलमा परेको पनि बताए ।

राहदानी नवीकरणका लागि बिहानै पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भिडमा बसरे राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले कोरोनाको जोखिम मोलेर आफूहरु राहदानी लिन भिडमा बस्न बाध्य हुनुपरेको पनि बताए । उनीहरूले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७