ओली राजनेता हुन्, हराउन सम्भव छैन : खिमलाल भट्टराई


२६ श्रावण २०७८, मंगलवार
khimlal bhattarai EUpqHMYu8K

काठमाडौं, २६ साउन । नेकपा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले अझै पनि नेपालको राजनीति पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि घुमिरहेको जिकिर गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले राजनेता हुन राजनीति उसैको वरिपरि घुम्नु पर्ने पनि जिकिर गरे ।
‘त्यतिकै मान्छे राजनेता हुन सक्दैन’, ओलीको प्रशंसामा शब्द खर्चिदै भट्टराईले अगाडि भने, ‘सडक, सदन सरकार तीन वटै ठाउँ उसको दृष्टिकोणले प्रभाव पार्नुपर्ने हुन्छ, उसकै वरिपरि घुमिरहनु पर्छ ।’

ओलीले सरकारी निवास बालुवाटार र प्रशासकीय केन्द्र सिंहदरबार छाडेर बालकोट गए पनि राजनीति उनकै वरिपरि घुमिरहेको पनि उनले दोहोर्‍याए । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको एक महिना हुन लाग्दा पनि विस्तार हुन नसक्नुको पछाडि ओलीकै ’फोबिया’ बाँकी रहेको भन्दै उनले कटाक्ष गरे ।

‘ओली बालुवाटार छाडेर बालकोट जानुभएको छ तर अहिले पनि राजनीति उहाँकै वरिपरि घुमेको छ’, उनले भने, ‘संसदमा आउँदा उहाँकै चर्चा हुन्छ । आज सरकार विस्तार भइरहेको छैन । यो सरकार नबन्नुमा पनि केपी ओलीकै ‘फोबिया’ छ ।’

ओलीलाई सीधा बाटोबाट नभइ झ्यालबाट हटाइएको सडकमा समेत चर्चा भइरहेको उनले बताएका छन् । ओलीलाई मुद्दा मामिलाबाट सर्वोच्च अदालतको चोर बाटोबाट हटाइएको दाबी भट्टराईले गरेका छन् । ओलीबाट जनताले आश गरेको अवस्थामा घेराबन्दीमा पारेर हटाइएको जिकिर उनले गरेका छन् ।

‘सडक, सदन र सरकार, सबै ठाउँमा केपी ओलीको प्रभाव छ, यो हिसाबले देशले एउटा राजनेता जन्माएको छ’, उनले अगाडि भने, ‘राजनेतालाई हराउन सम्भव छैन । फेरि पनि राजनेता फर्केर आउने छ ।’ उनले बारम्बार ओलीको निष्ठामाथि प्रहार भइरहेको पनि बताएका छन् । ओलीले लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७