एक हप्ताको फरकमा तीन जना राउटेको मृत्यु


२६ श्रावण २०७८, मंगलवार
raute

सुर्खेत, २६ साउन । कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो ।

एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए । दुबैको मृत्यु भएपछि परम्पराअनुसार दाहासंस्कार पनि गरिएको थियो ।

परम्पराअनुसार मान्छे मर्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सारेका हुन् । यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो । तीनैजनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गरे ।

मृत्युको खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो तर अन्य कतिपयले भने जँचाउन आएका थिएनन् ।

‘बस्तीमा पुग्दा धेरै बालबालिका कुपोषित भएको पाइयो । त्यो समुदायमा घाउचोट लागेका बिरामी धेरै रहेछन्’, उनले भने, ‘बालबालिकालाई जुकाको औषधि खुवायौं । मदिरा, छाला र उच्च रक्तचापसम्बन्धी रोगी बढी थिए ।’ जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सोसेकको सहयोगमा केही औषधि उपलब्ध गराइएको र थप औषधिपछि पठाइने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७