चार वटै सिफ्टको प्रश्नपत्र बाहिरिएपछि प्रहरी शान्ति मिसनको पूर्व छनोट परीक्षा रद्द


२६ श्रावण २०७८, मंगलवार
police head

काठमाडौं, २६ साउन । नेपाल प्रहरीको शान्ति मिसनको पूर्व छनौट परीक्षा रद्द भएको छ । प्रहरीमा राष्ट्र संघीय शान्ति मिसन पूर्व छनोट अन्तर्गत सबै सिफ्टका प्रश्न पत्र बाहिरिएको खुलेपछि परीक्षा रद्द भएको हो । प्रहरी प्रधान कार्यालयले गठन गरेको छानविन समितिले चार वटै सिफ्टका प्रश्नपत्र बाहिरिएको ठहर गरेको हो ।

साउन १५ र १६ गते प्रि–स्याट परीक्षा चार सिफ्टमा सञ्चालन भएको थियो । प्रहरी प्रधान कार्यालयबाट हुने परीक्षाका लागि राखिएका सबै सिफ्टका प्रश्नपत्र बाहिरिएको पाइएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
समितिले मंगलबार नै छानबिन प्रतिवेदन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुझाउने तयारी गरेको छ । आईजीपी थापा विपद् प्राधिकरणको बैठकमा भएकाले प्रतिवेदन बुझाउन समिति हेड क्वार्टरमा पर्खिरहेको छ ।

आईजीपी थापा बुधबार उपत्यका बाहिर जाने कार्यक्रम भएकाले समितिले मंगलबार नै प्रतिवेदन बुझाउने तयारी गरेको छ । सबै सिफ्टका प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरेर पुनः सञ्चालन गर्न समितिले सिफारिस गरेको छ । उपत्यका बाहिरको परीक्षाका प्रश्नपत्र शिल गरेर राखिएको छ । तर उपत्यकाका लागि युएन शाखाका प्रमुख एसपी अनुप शमशेर जबराको टेबलको घर्रामा राखिएको प्रश्न पत्र चोरी भएको थियो । यही साउन १३ गते एसपी जबरासहित परीक्षा सञ्चालक समिति राति ८ बजेसम्म कार्यालयमा बसेर फर्किएको थियो ।

तर उनीहरु बाहिरिएको केही समयपछि उनकै कार्यकक्षको फोटोकपि मेसिनबाट प्रहरी परिचर सुरेश बमले फोटोकपी गरेको खुलेको हो । उनलाई यो सबै काम साइबर व्यूरोका हवल्दार कुमार शाहले लगाएको पाइएको छ ।

बम र शाहलाई प्रहरी सेवाबाटै बर्खास्त गर्न समितिले सिफारिस गरेको छ । प्रश्नपत्र लिक गर्ने ३० देखि ३५ प्रहरीलाई कारबाही सिफारिस भएको छ । तर डीएसपीमाथिका प्रहरीलाई भने सचेत मात्रै गराइएको प्रहरी प्रधानकार्यालय स्रोतले जानकारी दिएको छ । ‘दुई जनालाई बर्खास्त गर्न सिफारिस गरिएको छ । कसैको बढुवा रोक्का भएको छ’, स्रोेत भन्छ, ‘उनीहरुको संलग्नाता अनुसारको कारबाही गर्न सिफारिस भएको छ ।’

परीक्षामा करिब २४ सय प्रहरी सहभागी थिए । सबै प्रदेश र उपत्यकामा प्रि–स्याट परीक्षा सञ्चालन भएको थियो । तर दोस्रो दिनको परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि अर्कै प्रश्नपत्र वितरण गरेर परीक्षा लिइएको थियो । प्रश्नपत्र लिक भएको विषयमा छानबिन गर्न साउन १९ गते डीआईजी वसन्त लामा नेतृत्वको ६ सदस्यीय छानविन समिति गठन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७