मनसुन थप सक्रिय, सातै प्रदेशमा भारी र धेरै भारी वर्षाको सम्भावना


२७ श्रावण २०७८, बुधबार
rain

काठमाडौं, २७ साउन । नेपालमा केहि दिन अलि मत्थर भएको मनसुन आज (बुधबार) बाट थप सक्रिय भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउँदा मनसुन थप सक्रिय भएको मौसमविदले जानकारी दिएका छन् ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउँदा देशभरी मनसुन सक्रिय हुने र बिहीबारदेखि केही दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार, शनिबार प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र प्रदेश–२ को एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नली तथा खोलामा पानीको सतह बढ्ने तथा गेग्रान बहावको सम्भावना रहेकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । कमजोर पहाडी भू–भागमा पहिरो तथा भू–क्षयको सम्भावना उच्च हुने हुँदा सकेसम्म सुरक्षित स्थानमा स्थानान्तरण हुन मौसमविद्को सुुझाव छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरु सतर्क रहनु पर्ने भन्दै स्थानीय प्रशासनको सूचनाको ख्याल गर्न तथा आग्रह अनुसार बस्न पनि मौसमविद्हरुको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७