हराइरहेकी किशोरीको शव जङ्गलमा फेला, बलात्कारपछि हत्याको आशंका


२७ श्रावण २०७८, बुधबार

उदयपुर, २७ साउन । घरबाट एक साताअघि हराएकी उदयुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी एक १६ वर्षीया किशोरीको शव जङ्गलमा फेला परेको छ । स्थानीय प्रेमकुमार चौधरीकी १६ वर्षीया छोरी कृशलाको शव सडेको अवस्थामा घर नजिकैको राजदेवी सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

कृशला यही साउन १३ गतेदेखि घरबाटै हराएको परिवारले जनाएको छन् । हराएको ६ दिनपछि साउन १९ गते सडेको अवस्थामा स्थानीय जङ्गलमा शव भेटिएको गौतमले बताए । किशोरीको शव उनको बुवाले पहिचान गरेका छन् ।

किशोरीको बलात्कारपछि हत्या भएको आशंका स्थानीयले गरेका छन् । घटना अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ‘उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी सुक्ष्म अनुसन्धान गरिरहेका छौं’, प्रहरी नायव उपरीक्षक गौतमले भने । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

अभिभावकका अनुसार कृशला घरबाट आफन्तको जान भनेर साउन १३ गते हिँडेकी थिइन् । त्यसपछि बेपत्ता भएकी उनको परिवार र आफन्तल धेरै हल्लाखल्ला नगरी खोजी गरेका थिए । सामाजिक प्रतिष्ठामा आँच आउने डरले छोरीको भित्रभित्रै खोजी गरे पनि प्रहरीलाई भने जानकारी नगराएको बुवा प्रेमकुमारको भनाई छ ।

‘समाजले छोरीको चरित्रमा प्रश्न उठाउने डरले धेरै हल्ला नगरी खोजी गरेका थियौं, तर छोरी जीवित भेटिइनन् । छोरीको शव सडेको अवस्थामा भेटियो,’ उनले भने । प्रहरीले घटनालाई शंकास्पद मानेको छ । ‘हामी गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौं’, प्रहरी नायव उपरीक्षक गौतमले भने, ‘किशोरी हराउने वित्तिकै प्रहरीलाई खबर गरेको भए उनलाई जिवितै भेटाउन पनि सकिन्थ्यो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७