लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि आज छिनोफानो


२७ श्रावण २०७८, बुधबार
shankar Pokheral

बुटवल, २७ साउन । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज (बुधबार) दिउँसो १ बजे बस्दै छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न अधिवेशन बोलाइएको हो ।

अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि छलफल हुने भएको हो । अविश्वासको प्रस्ताव टेबुल भएपछि आज नै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन नै मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यस्तै वैशाख २६ मा दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेका थिएनन् ।

लुम्बिनीमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा हाल कायम प्रदेशसभा सदस्यहरुको संख्या ८० छ । विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत नै आवश्यक पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७