लुम्बिनीका थप दुई मन्त्रीले पनि राजीनामा दिंदै


२७ श्रावण २०७८, बुधबार
kalpana bijaya jasapa

बुटवल, २७ साउन । लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का थप दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।
भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् ।

‘माननीय सन्तोष पाण्डेसहित हामी तीनै जनाले राजीनामा दिने हिजो नै निर्णय भएको हो,’ मन्त्री यादवले भने, ‘मेरो र कल्पनाजीको राजीनामा पत्र तयार तयार गर्दैछौं ।’ मन्त्री कल्पना पाण्डे अस्पतालमै रहेकाले उनका पति नवराज लम्सालले राजीनाबारे छलफल भइरहेको र एकाध घण्टामा निर्णय हुने बताए । यसअघि मंगलबार राति भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका थिए ।

उनीहरु तीनै जनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक–पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ । भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले भने एक महीनाअघि नै राजीनामा दिएर पार्टीमा फर्केकी छन् ।

यसअघि गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टामै उनीहरु सरकारमा सामेल भएका थिए । त्यसपछि पाण्डे, यादव,रायमाझी र लम्साललाई पार्टीले कारबाही गरेर पदमुक्त गरेको थियो ।
यसैबीच जसपा संसदीय दलको वैठकको निर्णय अनुसार राजीनामा दिएको भनी पाण्डेले गरेको प्रचारप्रति पार्टीले आपत्ति जनाएको छ ।

जसपा संसदीय दलका नेता सहषराम यादवले सरकार ढल्ने निश्चित भएपछि पाण्डेले आफूखुशी राजीनामा दिएको हुनसक्ने बताए । ‘पार्टी संसदीय दलको नेता म हुँ, दलको बैठक आज बसेकै छैन,’ यादवले भने, ‘पदका लागि जे पनि गर्न तयार हुने चरम अवसरवादीले पार्टीको नाम दुरुपयोग गर्नु आपत्तिजनक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७