महाधिवेशनकाे नयाँ कार्यतालिकाबारे देउवाले थाले संस्थापन इतरसँग छलफल


२७ श्रावण २०७८, बुधबार
deuwa 1

काठमाडौं, २७ साउन । निर्धारित मितिमा १४ औं महाधिवेशन नहुने निश्चित भएपछि प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ कार्यतालिकाबारे संस्थापन इतर समूहका नेताहरुसँग अनौपचारिक छलफल थालेका छन् ।

भदौ १६–१९ मै महाधिवेशन हुनुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वप्रति बढी आक्रामक देखिएपछि सभापति देउवाले महाधिवेशन सार्ने विषयमा संस्थापनइतर समूहका प्रभावशाली नेताहरुसँग छलफल अगाडि बढाएका हुन् । मंगलबार प्रधानमन्त्री देउवाले संस्थापनइतर समूहका नेताहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगनकुमार थापासँग बालुवाटारमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गरेका हुन् । बालुवाटार स्रोतका अनुसार देउवाले निर्धारित मितिमा महाधिवेशन सम्भव नभएकाले नयाँ कार्यतालिकाबारे नेताहरुसँग सल्लाह गरेका थिए ।

छलफलमा केन्द्रीय सदस्य रिजालले पार्टीमा समझदारी जुटाएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउन देउवालाई आग्रह गरेका थिए । ‘केन्द्रीय समिति बैठकअघि नै समझदारीमै कार्यतालिका ल्याउँदा राम्रो हुन्छ,’ नेता रिजालको प्रस्ताव थियो, ‘नत्र केन्द्रीय समितिमा अनावश्यक विवाद हुन्छ । त्यसले राम्रो सन्देश दिंदैन ।’ देउवाले साउन २८ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिकामा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवाले सहमतिमै कार्यतालिका ल्याउने जवाफ दिएका थिए । ‘म पनि सहमतिमै कार्यतालिका ल्याउने पक्षमा छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘महाधिवेशनबारे पार्टीमा समझदारी होस् भन्ने चाहन्छु । यसका लागि तपाईंहरुले सकारात्मक भूमिका खेलिदिनुस् ।’

देउवाले सरकार सञ्चालनका बारेमा आवश्यक सुझाव दिन पनि नेताहरुलाई आग्रह गरेका थिए । कांग्रेसमा केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने गरी छलफल भइरहेको छ । पौडेल समूहकै महामन्त्री डा. शशांक कोइराला पनि भदौमा महाधिवेशन सम्भव नभएकाले मंसिरमा गर्ने कार्यतालिका ल्याउन सकारात्मक छन् । तर वरिष्ठ नेता पौडेल भने प्रक्रिया छोट्याएर भएपनि तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

काठमाडौंमा दुई दिन चलेको पौडेल पक्षीय जिल्ला सभापतिहरुको भेलामा पनि भदौमै महाधिवेशन गर्नुपर्नेमा अधिकांशको जोड थियो । पार्टी वैधानिकता जोगाउन विशेष महाधिवेशन भएपनि निर्धारित मितिमै हुनुपर्नेमा अधिकांश जिल्ला सभापतिको जोड रहेको नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए । मंगलबार दिउँसो मात्रै नेता थापाले संस्थापनइतर समूहका जिल्ला सभापतिहरूको भेलामा महाधिवेशन सम्पन्न गर्नु आफूहरूको चिन्ताको विषय नभएको अभिव्यक्ति दिएका थिए ।

‘महाधिवेशन होला नहोला हाम्रो चिन्ताको विषय होइन। सभापतिले महाधिवेशन हुन्छ हुन्छ हुन्छ भन्नुभएको छ । त्यसैले चिन्ता लिने जिम्मा सभापतिको हो,’ थापाको भनाई उदृत गर्दै भेलामा सहभागी कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भनेका थिए, ‘अहिले अधिवेशन हुन सक्दैन, यो विधि अपनाऊँ भनेर नभनौं । महाधिवेशन नहुनुको दोष हामी नलिऔं । सभापतिले प्रस्ताव ल्याउनुहोला, अनि प्रस्तावमा छलफल गरौंला ।’

मंगलबार बालुवाटारमा भएको छलफलमा संस्थापन इतर समूहका नेताहरूले केन्द्रीय कार्यसमिति बैठकअगावै सहमतिमा महाधिवेशनको नयाँ कार्यतालिका ल्याउनुपर्ने सभापति देउवा समक्ष धारणा राखेको बताइएको छ । सभापति देउवाले महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न बिहीबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक राख्दै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७