मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड


२७ श्रावण २०७८, बुधबार
1601432523 madhya pashim S9yKUGeOOL

काठमाडौं, २७ साउन । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्राडा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम) मा आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन् ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताए । मुसोममा अन्तरक्रिया भइरहेका बेलामा ढुङ्गामुढा गर्नुका साथै निवासमा पार्किङ गरी राखिएको अवस्थामा मंगलबार साँझ गाडीमा बञ्चरो प्रहार गरिएको हो । तोडफोडबाट गाडीको सिसा फुटेको छ ।

उपकुलपति सिंह मुसोममा ‘उच्च शिक्षाका चुनौती र वर्तमान अवस्थामा विश्वविद्यालयमा देखिएका समस्याहरुको समाधानका उपाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी भइरहँदा गाडीमा तोडफोड भएको हो । उपकुलपछि सिंह कार्यक्रमबाट फर्कने क्रममा प्रहरीसँगको झडपमा परी केही विद्यार्थी घाइते भएका छन् ।

घाइते हुनेमा मध्यपश्चिम विश्वविद्यालय अखिल (क्रान्तिकारी) का संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायत छन् । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति कोटा बढाउनुपर्ने, विश्वविद्यालयका पदाधिकारीद्वारा यसअघि सार्वजनिक अभिव्यक्तिमाथि छानबिन हुनुपर्ने, तत्काल स्ववियु निर्वाचनको मिति तोकिनुपर्नेलगायतका माग राखेर विश्वविद्यालयका चार विद्यार्थी सङ्गठन आन्दोलित छन् । केही दिनयता विद्यार्थी रिले अनशनमा बसिरहेका छन् ।

विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई लक्ष्य गरी गाडीमा बञ्चरो प्रहार गर्ने अराजक समूहलाई कारबाही गर्न माग गरेको छ । विद्यार्थी सङ्गठनले भने आन्दोलनमा दमन गर्ने विश्वविद्यालय पदाधिकारीलाई कारबाहीको माग गरेका छन् । उनीहरुले बञ्चरो प्रहार नगरेको र उपकुलपतिले उल्टै शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्न अराजक समूह परिचालन गरेको आरोप लगाएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७