शान्ति मिसन प्रश्नपत्र ‘लिक’ : सईसहित तीन बर्खास्त, ११ जनालाई विभागीय कारबाही


२७ श्रावण २०७८, बुधबार
police head

काठमाडौं, २७ साउन । संयुक्त राष्ट्र संघ (युएन) को शान्ति मिसनको छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ गरिएको विषयमा छानबिन गर्न गठित समितिले प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

आज (बुधबार) बिहान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समितिले ५५० पृष्ठ लामो प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिए । प्रश्नपत्र लिक गरिएको विषयमा अनुसन्धान गर्न यही साउन १९ गते प्रहरी नायब महानिरीक्षक वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

समितिले तीन जनालाई प्रहरी सेवाबाटै बर्खास्त गर्न सिफारिस गरेको छ । प्रहरी परिचर सुरेश बम, प्रहरी हवल्दार कुमार शाह र प्रहरी नायब निरीक्षक जनक थापालाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको हो ।

यस्तै समितिले एसपीसहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । यूएन शाखाका प्रमुख एसपी अनुपमशमशेर जबरा, परीक्षा सञ्चालन समितिका एसपी वेद विष्ट, प्रहरी निरीक्षक ईश्वरी भण्डारीलाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।

परीक्षा सञ्चालनको जिम्मेवारी तोकिएका उनीहरूले प्रश्नपत्रको सुरक्षा गर्न नसकेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै परीक्षामा सहभागी ८ जनालाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।

डीएसपी रुपेश खड्का, डीएसपी सुगन्ध श्रेष्ठ, प्रहरी निरीक्षक दिलीप क्षेत्री, प्रहरी नायब निरीक्षक केदार तिमिल्सना, प्रहरी नायब निरीक्षक सुनील भण्डारी, प्रहरी नायब निरीक्षक केशव कार्की, प्रहरी सहायक निरीक्षक अशोक कार्की, प्रहरी जवान सुनिता नेपाललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ। उनीहरूले आफूले प्रश्नपत्र पाएपछि अरूलाई पनि पठाएका थिए । उनीहरूले विभागीय जिम्मेवारीमा लापरबाही गरेकाले कारबाही सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रश्नपत्र तेस्रो व्यक्ति समेत ११९ जनासम्म पुगेको पाइएको छ । चारै सिफ्टका प्रश्नपत्र बाहिरिएको आशंकापछि तयार पारिएका दुईवटा प्रश्नपत्र पनि बाहिरिएको पाइएको हो । यही साउन १५ र १६ गते शान्ति मिसनका लागि छनोट परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा २४ सय जना सहभागी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७