लुम्बिनी प्रदेश : एमालेले अदालतको आदेश कुर्ने, त्यसपछि मुख्यमन्त्रीले निर्णय गर्ने


२७ श्रावण २०७८, बुधबार
shankar Pokheral

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशको सत्तापक्ष एमालेले आज (बुधबार) को प्रदेश सभामा कसरी प्रस्तुत हुने भन्नेबारे अझै निर्णय गरेको छैन । विपक्षीले ल्याएको अविश्वासको प्रस्तावमा छलफल गर्न आज प्रदेशसभाको विशेष अधिवेशन हुँदैछ ।

विशेष अधिवेशन र अविश्वासको प्रस्तावको सम्बन्धमा आज बसेको एमाले संसदीय दलको बैठकले निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई दिएको छ । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले १२ बजेसम्म सर्वोच्च अदालतको निर्णय कुर्ने र त्यसपछि निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई दिइएको जानकारी दिएका छन् ।

‘१२ बजेसम्म अदालतको निर्णय पर्खिन्छौं । त्यसपछि के गर्ने भन्नेबारे मुख्यमन्त्रीले निर्णय गर्नुहुन्छ’ उनले भने, ‘राजीनामा दिने कि प्रदेश सभा फेस गर्ने उहाँले नै निर्णय गर्नुहुन्छ ।’ लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ ।

विशेष अधिवेसन आह्वान विरुद्ध सत्तापक्ष एमालेका तर्फबाट प्रदेश सांसद लिला गिरीले प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइको लागि मंगलबार प्रकाशमानसिंह राउतको इजलासमा पेशी तोकिएको थियो ।
मंगलबार हेर्न नभ्याइएपछि आजको लागि सारिएको थियो । आज आनन्दमोहन भट्टराईको इजलासमा पेशी सूचीको आठौं नम्बरमा उक्त रिट परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७