प्रक्रिया विपरीतका सदस्यता खारेज नभई महाधिवेशन असम्भव : शेखर कोइराला


२७ श्रावण २०७८, बुधबार
shekhar koirala

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यथास्थितिमा पार्टी महाधिवेशन असम्भव रहेको बताएका छन् । उनले प्रक्रिया विपरीत समायोजनका नाममा बाँडिएको क्रियाशील सदस्यता खारेजी नभई महाधिवेशन नहुने बताएका छन् ।

महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल शुरु भएका बेला सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. कोइरालले उनले भनेका छन्, ‘तल्लो तहबाट विधान र प्रक्रियागत ढङ्गले आएका, छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्‍याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न ।’

कांग्रेस जिल्ला सभापतिहरुले पनि केन्द्रबाटै क्रियाशील सदस्यतामा धाँधली भएको आरोप लगाएका छन् । ‘कतिपय वडामा शतप्रतिशतभन्दा बढीलाई नयाँ क्रियाशील सदस्यता बाँडिएको छ, यो केन्द्रको सहयोग बिना सम्भव छैन । सदस्यता फारम केन्द्र बाहेक अन्यत्र छापिदैनन्’, नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भनेका छन्, ‘जब केन्द्रबाटै धाँधली हुन्छ र महाधिवेशनमा सबै उत्साहका साथ प्रवेश गर्न पाउँदैनन् भने त्यस्तो महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष बन्न सक्छ ।’

क्रियाशील सदस्यता वितरण तथा छानबिन सबै प्रक्रियासंगत नभएको भन्दै बारा, रौतहट कैलालीसहितका विभिन्न जिल्लाका कांग्रेस नेता–कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्नामा छन् । धर्नाका कारण कांग्रेसका बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७