प्रदेश सभाका उपसचिव यादवको तलब रोक्का


२७ श्रावण २०७८, बुधबार
kalfkmdgmgd1628659042

जनकपुरधाम, २७ साउन । प्रदेश–२ का प्रदेशसभा सचिवालयका उपसचिव रञ्जित यादवको तलब रोक्का गरिएको छ । संघीय संसद् सचिवालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निमित्त सचिव यादवको तलब रोक्न पत्राचार गरेको हो ।

यादव संघीय संसद्मा कार्यरत रहँदा निजामती सेवाअन्तर्गत प्रदेश–२ मा ०७५ चैत १२ गतेको निर्णयानुसार समायोजन भएर आएका थिए । त्यति बेला संघीय सचिवालयको नगद एवं जिन्सी बरबुझारथ नगरेको कारण तलब रोक्का राख्न निर्देशन दिइएको जनाइएको छ ।
प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको पत्रमा उपसचिव यादवले रमनासमेत नलिई प्रदेशमा हाजिर भएको उल्लेख छ ।

पटक–पटक ताकेता गरे पनि अटेरी गरेको, पत्राचार गर्दा जवाफ नदिएको र सार्वजनिक सूचना प्रकाशन गर्दासमेत कुनै प्रतिक्रिया नदिएको पत्रमा पनि उल्लेख छ । वित्तीय उत्तरदायी ऐनानुसार उनको नाममा रहेको पेस्की फर्छ्योट र जिन्सी बरबुझारथ नगरेसम्म तलब–भत्ता रोक्का राख्न संघीय सचिवालयको निर्णयानुसार अनुरोध गरिएको हो ।

यादवले संघीय संसद् सचिवालयबाट लिएको पेस्कीबापतको ५४ हजार ३०० रुपैयाँ नगद, एकथान मोटरसाइकल र एकथान ल्यापटपसहित विभिन्न जिन्सी सामानहरू हालसम्म नबुझाएको बुझिएको छ ।

यादवले भने शुरुमा आफू काजमा खटिएको हुनाले बरबुझारथ गर्न नसकेको बताएका छन् । ‘एक महिनाको लागि प्रदेशसभा सचिवालयमा काजमा आएको थिएँ’, उनले भने, ‘पछि यतै सरुवा भयो । त्यसपछि म काठमाडौं जानै पाइनँ ।’

t

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७