कुलमानले बुझे चार वर्षको नियुक्ति, प्राधिकरण कर्मचारीले गरे स्वागत


२७ श्रावण २०७८, बुधबार
kulman

काठमाडौं, २७ साउन । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति पत्र बुझेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि नियुक्त गरेको थियो । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।

२०७७ भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङ फेरि प्राधिकरणमा फर्किएका हुन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका कुलमान घिसिङले बुधबार प्राधिकरण पुगेका छन् । उनलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । घिसिङले बुधबार नै पदभार ग्रहण गरेका छन् ।

kulman ghising get appointment paper jsPlcYTQ0M

२०७३ सालमा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङले यसअघिको कार्यकालमा देशलाई लोडसेडिङमुक्त गर्न प्राधिकरणबाट नेतृत्वदायी भूमिका खेलेका थिए । पदावधि सकिए पनि उनलाई दोहोर्‍याउन मन्त्रिपरिषद्मा पुगेको प्रस्ताव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका थिए । ११ महिनापछि घिसिङले फेरि प्राधिकरणमा नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् ।

गत साउन १९ गते नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले शाक्यलाई सरकारले उचित जिम्मेवारी दिने गरी निर्णय गर्ने भन्दै शाक्यलाई प्राधिकरणबाट भने बिदा हुन आग्रह गरेकी थिइन् ।

सोहीअनुसार घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्णकालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७