फागुनसम्म पाँच करोड २२ लाख डोज खोप आउने, अहिलेसम्म कतिले लगाए खोप ?


२७ श्रावण २०७८, बुधबार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं, २७ साउन । सरकारले आउँदो फागुनसम्म कोभिड–१९ विरुद्धको पाँच करोड २२ लाख डोज खोप ल्याउने जनाएको छ ।
असोजसम्म एक करोड दुई लाख र माघसम्म तीन करोड २३ लाख डोज खोप ल्याउने प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’ का क्रममा बुधबार प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले फागुनसम्म उक्त मात्रामा खोप आइपुग्ने जानकारी दिए । सरकारले यही अगस्टभित्र थप ६० लाख डोज भेरोसेल खोप ल्याउन चीनसँग ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गरिसकेको छ । चीन सरकारले नेपाललाई अनुदानमा दिने भनिएको थप १६ लाख डोज खोप पनि अगस्टभित्रै आइपुग्ने बताइएको छ ।

अहिलेसम्म कतिले लगाए खोप ?
नेपालमा कोभिड–१९ विरुद्धको दुई डोज अर्थात् पूर्ण खोप लगाउनेको संख्या २७ लाख २२ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार (हिजो) सम्मको तथ्यांकानुसार पहिलो डोज लगाउनेको संख्या ४५ लाख ४१ हजार ६८३ र दोस्रो डोज लगाउनको संख्या २७ लाखभन्दा बढी छ । यसमध्ये कोभिशिल्ड खोप पहिलो डोज १८ लाख ६८ हजार ४२५ र दोस्रो डोज पाँच लाख २८ हजार ७८२ जनाले लगाएका छन् ।

यस्तै भेरोसेल खोप पहिलो डोज २६ लाख ७३ हजार २५७ जना र दोस्रो डोज १० लाख १४ हजार २९२ जनाले लगाएका छन् । एक डोज मात्रै लगाइने जोन्सन एन्ड जोन्सनको खोप नेपालमा ११ लाख ७८ हजार ९४६ जनाले लगाएको मन्त्रालयको तथ्यांक छ ।

प्रदेशअनुसार वाग्मती प्रदेशमा सबैभन्दा धेरै नागरिकले खोप लगाएको तथ्यांकले देखाएको छ । प्रदेश नम्बर–१ मा कोभिशिल्डको पहिलो डोज तीन लाख १४ हजार ११७ जना र दोस्रो डोज ६१ हजार २०९ जनाले लगाएका छन् । त्यस्तै, भेरोसेल खोपको पहिलो डोज तीन लाख ४६ हजार १२९ र दोस्रो डोज ७२ हजार ६४४ जनाले लगाएका छन् भने जोन्सन एन्ड जोन्सनको खोप एक लाख ५२ हजार १४४ जनाले लिएका छन् ।

प्रदेश नम्बर–२ मा कोभिशिल्डको पहिलो डोज तीन लाख २० हजार ५३२ र दोस्रो डोज ४६ हजार ३५८ जनाले लगाएका छन् । त्यस्तै, भेरोसेल खोपको पहिलो डोज एक लाख २२ हजार ५९१ र दोस्रो डोज ६० हजार ७६६ जनाले लगाएका छन् भने जोन्सन एन्ड जोन्सनको खोप दुई लाख ३९ हजार ८४६ जनाले लगाएका छन् ।

वाग्मती प्रदेशमा सबैभन्दा धेरै चार लाख ४० हजार ४०१ जनाले कोभिशिल्डको पहिलो डोज र दुई लाख तीन हजार ८९० जनाले दोस्रो डोज खोप लगाएको तथ्यांक छ । वाग्मतीमा भेरोसेलको पहिलो डोज १२ लाख तीन हजार १०० र दोस्रो डोज ६ लाख ६९ हजार १०० जनाले लगाएका छन् । जोन्सन एन्ड जनेन्सनको खोप भने तीन लाख आठ हजार ३४६ जनाले लागएका छन् ।

गण्डकी प्रदेशमा कोभिशिल्डको पहिलो डोज एक लाख ९४ हजार १२१ र दोस्रो डोज ५६ हजार ९१९ जनाले लगाएका छन् । त्यस्तै, भेरोसेलको पहिलो डोज दुई लाख ६३ हजार ३६ र दोस्रो डोज ५८ हजार ६१७ जनाले लगाएका छन् । गण्डकीमा जोन्सन एन्ड जोन्सनको खोप ९५ हजार ५८६ जनाले लगाएका छन् ।

लुम्बिनी प्रदेशमा कोभिशिल्डको पहिलो डोज दुई लाख ८५ हजार पाँच र दोस्रो डोज ९१ हजार २१७ जनाले लगाएका छन् । त्यस्तै, भेरोसेल खोपको पहिलो डोज तीन लाख ८२ हजार ९०६ र दोस्रो डोज ९५ हजार २३३ र जोन्सन एन्ड जोन्सनको खोप दुई लाख ४१ हजार ७२६ जनाले लगाएका छन् ।

त्यस्तै, कर्णाली प्रदेशमा कोभिशिल्डको पहिलो डोज एक लाख सात हजार ३२८ र दोस्रो डोज २९ हजार १५१ जनाले लगाएका छन् । त्यस्तै, भेरोसेल खोपको पहिलो डोज एक लाख २२ हजार ९५७ र दोस्रो डोज २२ हजार १५३ जनाले लगाएका छन् । जोन्सन एन्ड जोन्सनको खोप ३६ हजार ९०५ जनाले लगाएको तथ्यांक छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा कोभिशिल्डको पहिलो डोज दुई लाख ६ हजार ९२१ र दोस्रो डोज ४० हजार ३८ जनाले लगाएका छन् । त्यस्तै, भेरोसेल पहिलो डोज खोप दुई लाख ३२ हजार ५३८ र दोस्रो डोज ३५ हजार ७७९ जनाले लगाएका छन् । सुदूरपश्चिममा जोन्सन एन्ड जोन्सनको खोप एक लाख चार हजार ३९३ जनाले लगाएको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७