काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको बसबाट आधा किलो सुनसहित तीन जना पक्राउ


२७ श्रावण २०७८, बुधबार
3 arrest with gold 1MY9BK0W4c

काठमाडौं, २७ साउन । काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको बसबाट झण्डै आधा किलो सुनसहित प्रहरीले तीन जना पक्राउ गरेको छ ।
आज (बुधबार) दिउँसो काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको महाकाली यातायातको बस चेकजाँच गर्दा सुनसहित बसमा सवार तीन जनालाई पक्राउ गरेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले जानकारी दिए ।

सुनसरी रामधुनी नगरपालिका–३ सिंगिया घर भई शैलेश्वरी सुनचाँदी पसल अत्तरिया कैलालीमा काम गर्दै आएका २६ वर्षीय राजु विक र कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ फुलैलीका ३५ वर्षीय भवानी घिमिरेलाई पक्राउ गरेको हो ।

प्रारम्भिक सोधपुछका क्रममा घिमिरेले ल्याएको २ वटा सुनको बालामध्ये एउटा कैलाली गोदावरी नगरपालिका–१ अत्तरियाका शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय समिर सिजापतीलाई दिएको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ । सिजापतिको साथबाट ४९.९५ ग्राम सुनको बाला र १६ हजार ३ सय रुपैयाँ बरामद भएको छ ।

घिमिरेको साथबाट ४९.९५ ग्रामको सुनको बाला र २६ हजार २ सय रुपैयाँ र विकको साथबाट सुनको बालाहरु र सिक्री गरी ३४९.८७ ग्राम सुन र ६ हजार ९०५ रुपैयाँ बरामद भएको छ । बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरिया स्थित सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, कोहलपुर पठाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७