अफगानिस्तानमा एकै दिन थप ४३९ लडाकु मारिए


२८ श्रावण २०७८, बिहीबार
Afghnistan1628693810

काबुल, २८ साउन । अफगानिस्तानमा एकै दिनमा थप ४३९ विद्रोही लडाकु मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरूको सुरक्षा कारबाहीका क्रममा अरू ७७ जना घाइते समेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

देशका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको अफगानिस्तानी सुरक्षा निकायहरूले जनाएका छन् । विषेश गरेर नानगारर्हार, कान्दहार लाघमन, लोगार, पाक्तीया, उरुग्गान, जाबुल, घोर, फराह, बाल्ख, हेल्मण्ड, कापिसा, बाघलानलगायतका प्रान्तमा सुरक्षा कारबाहीका घटना भएको जनाइएको छ ।

‘सुरक्षा कारबाही तीव्र पारिएका ठाउँमध्ये कान्दहार प्रान्तमा मात्रै २५ लडाकू मारिएको र १३ जना घाइते भएको विवरण प्राप्त भएको छ’, रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व भइरहे पनि पछिल्लो समयमा हिंसात्मक घटना थप बढेका छन् । अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकूहरूले विभिन्न प्रान्तीय राजधानी आफ्नो नियन्त्रणमा लिएको दाबी गरेकाले हिंसात्मक घटना बढेका हुन् ।

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही लडाकूहरूले अफगानिस्तानमा आफ्ना गतिविधिहरूलाई तीव्रता दिएका छन् ।

तालिबान लडाकूहरूले अहिलेसम्म झण्डै आधा दर्जन प्रान्तीय राजधानी नियन्त्रणमा लिएको दाबी गरेका छन् । ती क्षेत्रहरूमा तालिबान लडाकू र अफगानी सुरक्षाकर्मीका बीचमा सङ्घर्ष भने जारी नै रहेको जनाइएको छ । लडाकूहरूले हरेक प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयका अधिकारीहरूले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै नै तालिबान लडाकुलाई हटाउने दाबी गरेका छन् । एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७