एमालेमा विद्रोहको तयारी : नेता नेपालद्वारा केन्द्रीय सदस्यसँग अलग–अलग परामर्श


२८ श्रावण २०७८, बिहीबार
madhav nepal

काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ ।
अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो ।

‘अहिले माधव नेपालले आफू पक्षका केन्द्रीय सदस्यलाई फोनबाट विद्रोहका लागि तयार रहन र त्यहीअनुसार संगठन बनाउन निर्देशन दिइरहनु भएको छ’, नेपाल निकट एक केन्द्रीय सदस्यले भने । ओलीले एमालेभित्र छिर्न नदिएपछि नेपालले वैकल्पिक पार्टी निर्माणको बाटो अघि बढाउन थालेका हुन् । ‘अहिलेका लागि समानान्तर कमिटी बनाउनेमा विशेष जोड छ तर यही स्थितिमा कहिलेसम्म रहने भन्ने कुरा पनि हुन्छ। अध्यक्ष केपी ओलीजीले एकताको ढोका करिबकरिब बन्द गर्नुभयो भन्ने नेता माधव नेपालको निष्कर्ष छ’, नेपाल निकट जीवनराम श्रेष्ठले भने ।

नेपाल पक्षले साउन २१ र २२ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीका कारण पार्टी एकताको सम्भावना न्यून भए पनि अन्तिम अवस्थासम्म एकताका पक्षमा पहल गर्ने निर्णय गरेको थियो । तर ओलीले एकपक्षीय रुपमा विधान संशोधन प्रक्रिया अघि बढाएपछि नेपाल समूह पनि विद्रोहको तयारीमा अघि बढेको हो ।

नेपाल पक्षीय बैठकको निर्णयमा ‘पार्टी एकताको अनिवार्यतालाई हृदयंगम गर्दै तत्कालका लागि विभाजनको बाध्यात्मक नीति’ अवलम्बन नगर्ने र अन्तिमसम्म पार्टी एकताकै पहल गर्ने उल्लेख छ । बैठकका अधिकांश वक्ताले यथास्थितिमा एकता गर्न नहुने भन्दै ससम्मान एकता हुनुपर्ने धारणा राखेका भए पनि नेता नेपालले विघटित कार्यदलका सदस्यलाई चाँडै नै विवाद निरुपण गर्न र ओली पक्षसँग कुराकानी टुंग्याउन आग्रह गरेका थिए । ‘कार्यदलका साथीहरूलाई मैले भनेको छु संवादको विषय चाँडै टुग्याउनुस् नत्र अघि बढ्नुपर्ने हुन्छ’, बैठकमा नेपालले भनेका थिए ।

विवाद नमिल्दै अध्यक्ष ओली एकलौटी रुपमा अघि बढेकै कारण नेपालले आफू निकट केन्द्रीय सदस्यहरूलाई फोनबाट वैकल्पिक शक्ति निर्माणको संकेतसहित तयारीमा रहन आग्रह गरेका हुन् । ‘माधव नेपाल पक्षलाई पार्टीभित्र कुनै पनि स्थान नदिईकन ओली एकलौटी रुपमा अघि बढेका छन् । उनले सोमबार स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेर माधव नेपाल पक्षलाई ढोका बन्द भएको संकेत गरे’, नेपाल निकट स्थायी कमिटीका एक सदस्यले भने ।

ओलीले भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेपछि पार्टी एकता पक्षमा रहेका नेताहरू चिढिएका छन् । ओली पक्षले विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न विभिन्न समिति बनाएको छ । राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा पार्टी अध्यक्ष ओली र सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे छन् ।

त्यसैगरी, संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा पार्टी महासचिव ईश्वर पोखरेल र सदस्यहरूमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ, पद्मा अर्याल छन् । विधान संशोधन मस्यौदा समितिको संयोजकमा विष्णु पौडेल र सदस्यहरूमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह छन् । व्यवस्थापन समितिको संयोजकमा रामबहादुर थापा र सदस्यहरूमा मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, पासाङ शेर्पा छन् ।

‘उहाँहरू (ओली पक्ष) ले यसरी एकलौटी ढंगले बैठक राखे र निर्णय गरेपछि पार्टी एकताको ढोका बन्द भयो भन्ने हामीले बुझेका छौं । त्यसकारण विकल्प सोच्न बाध्य हुने अवस्था आएको हो’, नेपाल निकट वैकल्पिक पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले भने। नेपाल पक्षभित्र पनि पार्टी एकताकै पक्षका रहेका नेताहरूले अझै पनि नेपाललाई वैकल्पिक शक्ति निर्माणका लागि अघि नबढ्न सुझाव दिएका छन्। तर नेता नेपालले ओलीबाट अब अपेक्षा गर्ने ठाउँ सकिएको बताउँदै आफू अघि बढ्ने संकेत गरेका छन् ।

नेपाल पक्षले वैकल्पिक पार्टी गठन गर्नुपर्ने स्थितिमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूको नामलाई समेत अन्तिम रुप दिने काम गरिरहेको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र सात वटै प्रदेशसभाका सांसदहरूको सूची पनि तयार गरिएका छन् । त्यसैगरी पार्टी दस्तावेज लेखनकार्य पनि अन्तिम चरणमा पुगेको छ । प्रेम आले, किशान श्रेष्ठलगायतका नेताहरूलाई पनि नेपाल पक्षले उचित जिम्मेवारी दिने तयारी थालेको छ । नेपाल पक्षले सांसदहरूको लेबी पनि संकलन गर्न थालिसकेको छ ।

‘पार्टी विभाजन करिबकरिब अन्तिम अवस्थामा पुग्यों। यसलाई रोक्न कार्यदलका साथीहरू लागे पनि ओलीले मान्नु भएन । कार्यदलको कुरा ओलीले नमानेपछि नेपाल पनि अघि बढ्नुको विकल्प छैन भनेर लाग्नुभएको हो । सायद केही समयमै टुंगो लागिसक्छ’, नेपाल समूहका केन्द्रीय सदस्य विरोध खतिवडाले भने, ‘साइत हेरेर बस्ने कुरा आउँदैन, केही दिनमै यसबारेमा थाह हुनेछ तर यो हाम्रो रहर होइन ।’ नेपाल पक्षले अझै पनि केही समय कुर्न सकिन्छ कि भनेर समानान्तर कमिटी मात्रै बनाएको छ । तर ओली पक्षबाट कुनै पनि पहल नभएपछि नेता नेपाल आफैंले केन्द्रीय सदस्यहरूलाई फोन गरेर अब अघि बढ्ने जानकारी गराएको स्रोतको दाबी छ ।

विभाजनकारी शक्ति हाबी : आचार्य

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवाद नहुनु र दुवै जना पार्टी विभाजन गर्ने हिसाब अघि बढेका छन् । यसमा नेपाल पक्षका नेता भीम आचार्यले आपत्ति जनाएका छन् । उनले पार्टी विभाजनकारी प्रवृत्ति हाबी भएका कारण असहज अवस्था आउन लागेको बताएका छन् । सामाजिक सञ्जालमार्फत बुधबार बिहान आठ बुँदे अपिल जारी गर्दै नेता आचार्यले यतिबेला एमाले गम्भीर संकटबाट गुज्रिरहेको बताएका हुन् ।

पार्टी एकताका लागि बिनाजालझेल, छलछाम र हिचकिचाहट १०बुँदे सहमति लागु गर्नुपर्ने उनको भनाइ छ । उनले टुटफुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै पार्टी एकताको पक्षमा लाग्न सबैलाई अपिल गरेका छन् । एमाले एक भएर जानुपर्छ भन्ने धारणा बनाइरहेका आचार्यले पार्टीभित्र विभाजनकारी शक्ति हाबी हुँदा ओली–नेपालबीच संवाद हुन नसकेको संकेत गरेका छन् । नेपाल समूहबाट निरन्तर पार्टी एकताको पक्षमा उभिएका आचार्यले दुवैतर्फबाट हठ कायम हुँदा पार्टी विभाजनको डिलमा पुगेकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘एकातिर गत फागुन २८ गते बाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोली, बचन, काम, व्यवहार र निर्णयमा हालसम्म पनि प्रकट भैरहेका छन् । अर्कोतिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झण्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधिहरू विभाजनकै पक्षमा प्रकट भैरहेका हुन कि भन्ने आशंका बढेर गएको छ’, उनले भनेका छन् ।

उनले पार्टीभित्र एकताको पक्षमा रहेका नेता–कार्यकर्ता अहिले नेतृत्वविहीन अवस्थामा रहेको बताएका छन् । ‘नेकपा एमालेका देशविदेशमा भएका लाखौं कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदाय नेपालको वामपन्थी आन्दोलन र पार्टी एकताको पक्षका छन् तर उनीहरू पार्टी बचोस् भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भएका छन् र विडम्बना उनीहरू नेतृत्वविहन पनि छन’, एमाले सचिवसमेत रहेका आचार्यले भनेका छन् । उनले असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार भएकाले त्यसैमा टेकेर एकताको शुभारम्भ गर्नुपर्ने बताएका छन् ।

नेपाल पक्षमा लागेका केन्द्रीयस्तरका नेताहरू

१) झलनाथ खनाल

२) माधव नेपाल

३) युवराज ज्ञवाली

४) अष्टलक्ष्मी शाक्य

५) भीम रावल

६) घनश्याम भुसाल

७) भीम आचार्य

८) गोकर्ण बिष्ट

९) योगेश भट्टराई

१०) मुकुन्द न्यौपाने

११) सुरेन्द्र पाण्डे

१२) अमृत बोहोरा

१३) अरुण नेपाल

१४) गंगालाल तुलाधर

१५) नागेन्द्र चौधरी

१६) प्रदीप नेपाल

१७) प्रकाश ज्वाला

१८) परशुराम मेघी गुरुङ

१९) वेदुराम भुसाल

२०) रघुजी पन्त

२१) राजेन्द्रप्रसाद पाण्डे

२२) रामप्रित पासवान

२३) डा. विजय पौडेल

२४) श्रीमाया थकाली

२५) गौरा प्रसाईं कोइराला

२६) जगन्नाथ खतिवडा

२७) तुलबहादुर गुरुङ

२८) भागवत विश्वासी

२९) शत्रुधन महतो

३०) गरिमा शाह

३१) चूडामणि जंगली

३२) जयन्ती राई

३३) जीवन घिमिरे

३४) जीवनराम श्रेष्ठ

३५) टंक कार्की

३६) ठाकुर गैरे

३७) बलदेव चौधरी

३८) ममता गिरी

३९) यज्ञराज सुनुवार

४०) राजेन्द्रकुमार राई

४१) रामकुमारी झाँक्री

४२) लक्ष्मण पौडेल

४३) विजय गुरुङ

४४) विरोध खतिवडा

४५) विश्वनाथ प्याकुरेल

४६) सावित्रा भुसाल

४७) सीता गिरी ओली

४८) सोमप्रसाद पाण्डे

४९) श्रीप्रसाद शाह

५०) केदार न्यौपाने

५१) कल्याणी खड्का

५२) घनेन्द्र बस्नेत

५३) प्रमेश हमाल

५४) रामकुमार ज्ञवाली

५५) धर्मनाथ शाह

५६) यदुवंश झा

५७) रामचन्द्र यादव

५८) रविन्द्र बैठा

५९) रामचन्द्र साह तेली

६०) रत्नेश्वर गोइत

६१) हरिनारायण महतो

६२) कृष्ण खनाल

६३) दिनेश राई

६४) धर्मराज निरौला

६५) निरा जैरु

६६) प्रकाश शाह

६७) प्रतापलाल श्रेष्ठ

६८) प्रेमलकुमार खनाल

६९) माधव अर्याल

७०) मेटमणि चौधरी

७१) रचना खड्का

७२) रविन कोइराला

७३) राजन राई

७४) राजबहादुर बुढा

७५) रामरतीदेवी राम

७६) शेरबहादुर केसी

७७) सुरेन्द्र मानन्धर

७८) हरिबहादुर राई

७९) हंसराज शाही

८०) खगेन्द्र चुँडाल

८१) झपट रवल

८२) डा. देउमान साम्बाहाङ्फे

८३) देवशंकर पौडेल

८४) भाष्कर काफ्ले

८६) सुधीर शाह

८७) सरला यादव
(नागरिक दैनिकबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७