कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका मुख्य एजेण्डा


२८ श्रावण २०७८, बिहीबार
congress

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
कार्यतालिका अनुसार गाउँ / नगर वडाअधिवेशन यही साउन १२ गते, गाउँ / नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो । यद्यपि, क्रियाशील सदस्यताको विवादका कारण साउन २० गतेसम्मको अधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/ एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

बुधबार सभापति शेरबहादुर देउवाले विहान ९ बजेदेखि बुढानिलकण्ठमा आफू पक्षका नेताहरुसँग बैठक गरेर दिउँसो २ बजे पौडेल, सिटौलासहितका नेताहरुसँग छलफल गरेका थिए । देउवा पक्षीय नेताहरुको छलफलबाट पौडेललाई विश्वासमा लिएर महाधिवेशन सार्ने रणनीति तय भएको छ ।

पौडेल ‘भड्किए’ मा विशेष महाधिवेशन आह्वान हुनेदेखि पार्टी नेतृत्त्व बदनाम हुने र त्यसको असर सरकार संचालनमा पनि पर्नसक्ने भन्दै सचेत भएर पौडेलाई विश्वासमा राख्न देउवा पक्षका नेताहरुले सभापति देउवालाई सुझाव दिएका थिए । दोस्रो तहका नेताहरुले पौडेल पक्षका विरुद्ध बोले पनि सभापति देउवाले भने विश्वासमा लिने काम गर्ने रणनीति देउवा पक्षीय भेलाले तय गरेको थियो । यस लगत्तै बसेको बैठकमा सभापति देउवाले पौडेललाई आफूले महाधिवेशन गराउने विषयमा कति पनि शंका नगर्न आग्रह गरेका थिए ।

पौडेलले भने शंका नगर्न महाधिवेशनको प्रक्रिया सुरु हुनुपर्ने भन्दै त्यसो नहुँदासम्म बोलिने मात्र विश्वास गर्न नसकिने बताएका थिए । देउवा–पौडेलपक्षबीच करिव ५ घण्टा लामो छलफल भएको थियो । तर, पौडेलले क्रियाशील सदस्यतामा भएको धाँधलीको तत्काल निवारण गरेर विवादरहित ढंगले महाधिवेशन सुरु गर्न र भदौ महिनाभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका ल्याउन माग गरेका छन् । पौडेललाई देउवाले त्यसरी नै भए पनि महाधिवेशन गर्ने भन्दै विश्वास लिने प्रयास गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७