आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


२८ श्रावण २०७८, बिहीबार
badhi 3

काठमाडौं, २८ साउन । नेपालमा केहि दिन मत्थर भएको मनसुन फेरि सक्रिय भएको छ । न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण पुनः मनसुन सक्रिय भएको मौसमविदले जानकारी दिएका छन् ।

मनसुन सक्रिय भएका कारण देशका ६ प्रदेशका धेरै भू–भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) विभिन्न नदीमा पानीको बहाव बढ्न सक्ने छ । कोशी, कर्णाली र यसका सहायक नदीहरु कन्काई, कमला, वागमती तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्ने छ ।

नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने तर सतर्कता तहभन्दा तलै रहने विभागको पूर्वानुमान छ ।
प्रदेश–१ को इलाम, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, धनकुटा, प्रदेश–२ को बारा, वागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, ललितपुर, काभ्रेपलाञ्चोकका नदी तथा खोलामा पानीको बहाव बढ्ने छ ।

विभागका अनुसार आज गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, म्याग्दी, लुम्बिनी प्रदेशका अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलबस्तु तथा कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान तथा सुदूरपश्चिम प्रदेशको अछाम, कैलाली, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७