महाधिवेशन विवाद : ललितपुरमा देउवा निकट जिल्ला सभापतिको ‘काउण्टर’ भेला


२८ श्रावण २०७८, बिहीबार
deuwa 1

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसको संस्थापन समूह इतर जिल्ला सभापतिहरुको भेला सकिए लगत्तै पार्टी सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुको भेला भएको छ । महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै संस्थापन पक्ष निकट जिल्ला सभापतिहरु बिहीबार बिहानदेखि छलफलमा जुटेका हुन् ।

बैठकमा सहभागी भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएको भन्दै त्यसलाई चिर्न आफूहरु छलफलमा जुटेको जानकारी दिएका छन् ।

‘सभापति भेलाका नाममा जुन खालका वेथिति भए, हामी त्यसमा सहभागी छैनौं । विधानको व्यवस्था विपरीत पटक–पटक सभापति भेला भन्ने र नेतृत्वको विरुद्धमा भ्रम फैलाउने काम भइरहेको छ,’ उनले भने, ‘जिल्लामा बसेर अधिवेशनको वातावरण बनाउनु पर्नेमा काठमाडौं आएर अधिवेशन हुन नदिने माहोल सिर्जना गर्ने काम भएको छ, त्यसको विरुद्धमा हामी साथीहरु बसेका हौं ।’

उनले अधिवेशनलाई कसरी व्यवस्थित र सफल बनाउन सकिन्छ भन्नेबारे छलफल भइरहेको बताए । ‘जिल्ला–जिल्लामा अधिवेशनको माहोल कसरी बनाउन सकिन्छ भनेर हामी छलफल गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो यो छलफल कुनै नेताका विरुद्ध होइन, अधिवेशन कसरी सफल बनाउन सकिन्छ भनेर हो ।’

देउवा निकट जिल्ला सभापतिहरुले अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् । ललितपुरको समीट होटलमा बसेको भेलाले ६ बुँदे सुझाव तयार पारेको छ । त्यसमा अहिले महाधिवेशन गर्न नसकिने प्रमुख निष्कर्ष रहेको ओखलढुंगाका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले जानकारी दिए । भेलाले कोरोना अवधिलाई आधार मानेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको उनले जानकारी दिए । उनका अनुसार अहिले केहीबेरपछि भेलाले तयार पारेको निष्कर्ष सभापति देउवालाई बुझाइनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७