भालुको आक्रमणमा परी दम्पती घाइते


२८ श्रावण २०७८, बिहीबार
bhalu scaled
फाइल फोटो

जुम्ला, २८ साउन । जुम्लामा बिहीबार बिहान भालुको आक्रमणमा परी एक दम्पती परिवार घाइते भएका छन् । भालुको आक्रमणबाट सदरमुकाम खलंगा बजारमा व्यवसाय गर्दै आएका दैलेख घर भएको हिमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया घाइते भएको जुम्ला प्रहरीले जनाएको छ ।

उनीहरु बिहान घरबाट बाहिर निस्कनै लाग्दा भालुले आक्रमण गरेको हो । दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । घाइतेमध्ये निर्मलाको अनुहारमा चोट पटक लागेको छ भने हिमराज रोकायाको टाउको र ढाडमा चोट लागेको बताइएको छ ।

भालु बिहीबार बिहान ५ बजेतिर चन्दननाथ नगरपालिका–५ कार्किबाडामा पसेको थियो । जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार उक्त, भालुको खोजी कार्य भइरहेको छ । प्रहरी र सशस्त्र प्रहरी खोजीमा जुटेपनि भालुलाई भेटाउन नसकिएको तथा खलंगा बजारका अरु स्थानीयमाथि पनि आक्रमण गर्न सक्ने भन्दै सतर्क हुन आग्रह गरिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७