बजार पसेर मान्छेमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारियो


२८ श्रावण २०७८, बिहीबार
Bhalu

जुम्ला, २८ साउन । जुम्लामा बजारभित्र पसेर मान्छेमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ । बिहीबार बिहान करिब ५ बजेतिर चन्दननाथ नगरपालिका–५ का एक दम्पतीलाई भालुले आक्रमण गरेको थियो ।

भालु गाउँमा पसेर स्थानीयलाई आक्रमण गर्न थालेपछि बिहानदेखि नै प्रहरीले खोजी गरेको थियो भने करिब ७ घण्टापछि भालु भेटिए पनि सुरक्षित रुपमा नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।

1628770509 bhalu 1200x560 1

भालु बजार पसेको खबर पाएपछि जिल्ला प्रशासन, प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई जंगलतिर लखेट्न खटिएको थियो । टोलीले जंगलसम्म भगाउन खोज्दा भालुले सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन नसकिएको र गोली हानेर मारिएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्री जानकारी दिए ।

‘भालुलाई सुरक्षित स्थलतिर भगाउँदा खोज्दा पनि भालु गाउँ पसेर आतंक मच्चाउन थाल्यो,’ उनले भने, ‘गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा नआउने देखिएपछि गोली हानेर मारिएको हो ।’ भालुले चन्दननाथ नगरपालिका–५ कार्कीवाडामा हिमराज रोकाया र उनकी धर्मपत्नी निर्मला रोकाया थापा र चन्दननाथ नगरपालिका–४ का २५ वर्षका आशिष सार्कीलाई आक्रमण गरी घाइते बनाएको छ । घाइते तीनै जनाको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना डिभिजन वन कार्यालयको सक्रियतामा मारिएको भालुलाई डिभिजन वन कार्यालयमा लिएर पशु प्राविधिकले मृत घोषित गरेका थिए। हिमाली भालुको लम्बाइ ५ फिट, उचाई ३ फिट, गोलाई चार फिट थियो। अगाडिको पञ्जाको लम्बाई ७ इन्च, चौडाई ५ इन्च थियो। पञ्जाका नंग्रा २० वटा थिए। भालुको तौल दुइ क्वीन्टल थियो। रातो कालो र छातिको भाग सेतो थियो। भालुलाई वन कार्यालय परिसरमा १० फिट गहिरो खाडल खनेर गाडिएको थियो।

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरीका एसएसपी गगन श्रेष्ठ, डीएसपी दानबहादुर थापा र पत्रकारहरुको रोहवरमा खाल्डोमा गाडिएको हो। भालुको शरीरमा दश पोका नुन छर्किएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७