कांग्रेस महाधिवेशन : मंसिरमा प्रक्रिया, माघमा अधिवेशन


२९ श्रावण २०७८, शुक्रबार
congress central samiti

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ । बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो । मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुटेको छैन ।

स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले मंसिरमा स्थानीय तहका अधिवेशन सुरु गर्ने गरी केन्द्रीय तहको महाधिवेशनलाई माघमा पुर्‍याउने तयारी गरेका छन् । उनले आफूनिकट नेताहरूलाई सोबारे जानकारी गराएका छन् ।

‘नयाँ मितिबारे शीर्ष तहमा बुधबार छलफल भयो, त्यसपछि बिहीबारबाट केन्द्रीय समिति सुरु भएको छ, मंसिरमा प्रक्रिया सुरु गर्ने र माघमा महाधिवेशन गर्ने विषयमा सभापतिको जोडबल छ,’ प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले भने ।

तर, केन्द्रीय समितिको बिहीबारको बैठकमा भने महाविधवेशनको नयाँ मितिबारे भने कुनै छलफल नभएको ती नेताले जानकारी दिए । बुधबारको पदाधिकारी बैठकमा भने सभापति देउवाले भदौमा प्रक्रिया सुरु गर्न सम्भव नहुने भन्दै पुनः सार्ने गरी मिति तोक्नुभन्दा अब मिति सार्न नपर्ने गरी तोकिने बताएका थिए ।

सभापति देउवाको सो धारणामा वरिष्ठ नेता रामचन्द्र पौडेल भने असहमत बनेका थिए । उनले भदौमा नै प्रक्रिया सुरु गर्नुपर्ने भन्दै आफ्नो असहमति देखाएका थिए । तर, अहिले भने सबै शीर्ष नेता महाधिवेशनको मिति सार्ने विषयमा एक मत देखिएका छन् ।

बिहीबारको बैठकमा भने निर्वाचन समितिले बनाएको निर्वाचन निर्देशिका महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका छन् । त्यस्तै समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले तथा क्रियाशील छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकले पेस गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७