बल्छी र जालमा फसेर डल्फिन मर्न थाले


२९ श्रावण २०७८, शुक्रबार
dolphin V0c2ByLGQm

काठमाडौं, २९ साउन । मानिसपछिको सबैभन्दा बढी चेतनशील र चलाख प्राणी मानिएको डल्फिन मानिसबाटै बढी जोखिममा पर्न थालेको छ । मानिसले थापेको बल्छी र जालमा फसेर डल्फिन मर्न थालेपछि नेपालमा यसको अस्तित्व झन् संकटमा परेको छ ।

नेपालमा कोसी, नारायणी तथा कर्णाली र यसका सहायक नदीमा डल्फिन पाइने गरेको छ । कोसी तथा नारायणीमा सहजै देख्न नसकिने भए पनि कर्णालीका सहायक नदीहरूमा बर्खाका बेला डल्फिन सहजै देख्न सकिन्छ । पहिलो पटक २०५८ सालमा कर्णाली नदी र यसका सहायक नदीमा डल्फिन पाइने कुरा प्रमाणित गरिएको थियो । डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले हाल बर्खाका बेला यी नदीमा १२० वटासम्म डल्फिन देख्न सकिने बताए ।

डाइनोसरको युगदेखि हालसम्म पृथ्वीमा अस्तित्वमा रहेको यो जीवलाई नेपाल सरकारले संरक्षित प्राणी घोषणा गरेको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन (साइटिस)ले यसको व्यापार कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले अति सङ्कटापन्न जीवका रूपमा सूचीकृत गरेको छ ।

बर्खामा डल्फिनले बच्चा हुर्काउने गर्छ । यो बेला कर्णाली नदीमा ठूलो बाढी आउने भएकाले बच्चा हुर्काउन वयस्क डल्फिनहरू मोहना, पथरैया, कान्द्रा नदीमा विचरण गर्ने तथा आहार खोज्ने गर्छन् । यही बेला स्थानीय तहबाट मोहना, पथरैया तथा कान्द्रा नदीलाई माछा मार्नका लागि ठेक्कामा लगाउने गरिँदा ठेकेदारको लापरबाहीले डल्फिन जाल तथा बल्छीमा परेर मर्ने गरेको उनले बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७