देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना पूरा : किन भएन मन्त्रिपरिषद् विस्तार ?


२९ श्रावण २०७८, शुक्रबार
PMD

काठमाडौं, २९ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज (बिहीबार) एक महिना पुगेको छ । सर्वोच्च अदालतको परमादेशपछि गएको असार २९ गते प्रधानमन्त्री नियुक्त देउवाले एक महिनामा मन्त्रिपरिषद्लाई पूर्णता दिन भने सकेका छैनन् ।
कांग्रेसका दुई र माओवादीका दुई गरी चार मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्रीसहित सरकार चलाईरहेका प्रधानमन्त्री देउवाको काँधमा १७ वटा मन्त्रालयको भारी छ ।

यसअघि सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने गठबन्धन दलका नेताहरुले बताउँदै आएका थिए । तर साझा कार्यक्रम सार्वजनिक भइसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता पाउन सकेको छैन ।

पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस महाधिवेशनबारे टुङ्गो लगाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् । तर हिजोदेखि शुरु भएको कांग्रेस बैठकले महाधिवेशनबारे निर्णय गर्न सकेको छैन । कांग्रेस महाधिवेशनको अन्योलसँगै मन्त्रालय भागबण्डा तथा उपप्रधानमन्त्री बनाउने या नबनाउने भन्ने विवादले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरु उपप्रधानमन्त्रीको हैसियतमा मात्र सरकारमा जान चाहेका छन् । तर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधानमन्त्री नराख्ने पक्षमा छन् । यस्तै गठबन्धनका दलहरुमा मन्त्री बन्न खोज्नेहरु धेरै भएपछि नेतृत्वलाई मिलाउन समस्या भएको छ ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण प्रसाद सिटौला समूहलाई कसरी समेट्ने विषयमा समझदारी हुन सकेको छैन । नेकपा माओवादी केन्द्रले पनि सरकारमा जाने मन्त्री टुङ्गो लगाउन सकेको छैन । आधिकारिकता विषय अदालतले टुङ्ग्याएपछि जसपा मन्त्री छान्ने विषयमा केन्द्रित भए पनि विवाद बाँकी नै छ ।

सत्ता गठबन्धनको सहयात्री घटक एमालेको माधव नेपाल समूहलाई पर्खिंदा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको दाबी गरिएको छ । तर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएकाले पनि उनीहरुले नाम दिन सकेका छैनन् । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले पनि भदौ पहिलो सातापछि मात्र सरकारमा सहभागी हुनेबारे निर्णय हुने बताइसकेको छ ।

अर्कोतर्फ निर्धारित मितिमा पार्टीको १४औं महाधिवेशन नहुने भएपछि पार्टीभित्रै अप्ठेरोमा परेका प्रधानमन्त्री देउवा महाधिवेशनको नयाँ मिति टुंग्याएर मात्रै मन्त्री थप्ने रणनीतिमा छन् । यस्तै सत्ता गठबन्धनका घटकहरुले उपप्रधानमन्त्री दाबी गर्दा पनि प्रधानमन्त्री देउवा अप्ठेरोमा परेका छन् ।

लामो समय मन्त्रिमण्डल विस्तार गर्न नसकेपछि अहिले देउवाको आलोचना शुरु भइसकेको छ । कोरोना महामारीका बेला मन्त्रिपरिषद अपूर्ण हुँदा सरकारको काम प्रभावकारी बन्न नसक्ने भन्दै उनकै दल कांग्रेसका नेताहरुले समेत जतिसक्दो चाँडो मन्त्रिमण्डललाई पूर्णता दिनु पर्ने बताइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७