अलैंचीमा डढुवा लाग्यो, किसान चिन्तित


प्रकाशित मिति : August 13, 2021

बागलुङ, २९ साउन । बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैंचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैंचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् ।

धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको अलैंची खेतीमा समेत मासिने गरी रोग लागेको हो । बोटमा रोग लागेपछि त्यसबाट हुने उत्पादन शून्यमा झर्ने किसानको भनाइ छ । जैमिनी–२ र ३ मा गरी अलैंचीका दुई वटा पकेट क्षेत्र बनाइएको थियो । स्थानीय वेद छन्त्यालले दुई वटै क्षेत्रमा रहेको अलैंची सुक्दै गएपछि किसान मर्कामा परेको बताए ।

केही समयदेखि अलैंची सुक्दै गइरहेको जानकारी दिँदै छन्त्यालले रोगका कारण अलैंचीको बोट सुक्दै गएपछि किसानमा ठूलो चिन्ता छाएको र कतिपय किसानले त अलैंचीको गाँज नै उखेलेर फाल्न थालेको बताए । यस्तो समस्या गत पुस महिनादेखि सुरु भएको छन्त्यालको भनाइ छ ।

त्यस क्षेत्रमा करिब पाँच प्रतिशत मात्र अलैंचीको बोट राम्रो रहेको उनले बताए । अघिल्लो वर्ष अलैंची बेचेर पकेट क्षेत्रका नागरिकले करिब रु ४५ लाख आम्दानी गर्न सफल भए पनि अहिले भने त्यो नहुने भएपछि किसान चिन्तित बनेका छन् ।

दुई वटा पकेट क्षेत्र गरी करिब दुई हजार ४०० रोपनी जग्गामा अलैंची लगाइएको छ । अलैंची पकेट क्षेत्रका अध्यक्ष लोकेन्द्र सापकोटाले रोगको पहिचान नै हुन नसकेका कारण किसान चिन्तित बनेको बताए। खासगरी अलैंचीमा लाग्ने रोग, त्यसको निदानको बारेमा किसानलाई सचेत नगराई व्यावसायिकरूपमा अलैंची उत्पादन गर्दा किसानले समस्या झेल्नुपरेको उनको बुझाइ रहेको छ । किसानको समस्याबारे कृषि ज्ञान केन्द्रले समेत वास्ता नगरेको उनको भनाइ थियो । यसबारेमा कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले त्यसबारे रिपोर्ट नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्