सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा स्थानीयवासी मर्कामा


२९ श्रावण २०७८, शुक्रबार
road

बागलुङ, २९ साउन । नेपालको एक मात्र शिकार आरक्ष बागलुङको ढोरपाटनलाई तराईसँग जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तरोन्नतीको काम समयमा नसकिँदा सर्वसाधारणलाई सास्ती भएको छ । तराईबाट छोटो दूरीमा बागलुङलाई जोड्न दशकअघि रेखाङ्कन भएको यो सडकको अवस्था अहिले पनि उस्तै छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने गरी आठ वर्ष पहिले यो सडकको ट्रयाक खुलेको थियो । गत वर्षको बाढीले बगाएको सडक मर्मत गरेर हिउँदका महिना सवारी चले पनि बर्खा लागेपछि बेलाबेलामा रोकिने गरेको छ । आयोजनाको बागलुङ खण्डमा भइरहेको काम सुस्त हुँदा सर्वसाधारणलाई सास्ती भएको हो ।

ठाउँठाउँमा झरेको पहिरो र बाढीले सडक नै बगाउँदा ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का सर्वसाधारण मर्कामा परेका हुन् । सडक सहज नहुँदा सर्वसाधारणलाई पालिका मुकाम बुर्तिबाङ बजार आउजाउमा समस्या छ । वर्षाको समयमा उर्लिने भुजीखोलाको जोखिम र वर्षासँगै आउने बाढी र पहिरोका जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको स्थानीय राजकुमार बुढामगरले बताए । सडकको समस्याका कारण ढोरपाटनमा फलेको आलु र स्याउको बजारीकरणमा समेत समस्या छ ।

ढोरपाटनमा बर्खे आलु फल्छ । बजारमा निकै माग हुने र किसानको बारीमा राम्रो फल्ने ढोरपाटनको आलु सडककै कारण किसानकै भण्डारमा अल्झिने अवस्था आएको अर्का स्थानीय धनबहादुर विश्वकर्मा बताए । ‘गाडी चल्ने बाटो छैन, माथि ढोरमा आलु छ, यता बजारमा माग राम्रो छ’, उनले भने, ‘सडक मर्मत समेत राम्रोसँग भएको छैन । पानी परे हालत उत्रिने सडक छ ।’ उक्त सडकखण्ड आयोजनाको कार्यालय बागलुङमा छैन ।

एक सय ५० किलोमिटर लामो दूरीको सडकको झण्डै ५० किलोमिटर खण्डमात्रै बागलुङमा पर्छ । सडकको स्तरोन्नति र मर्मतको काम रुपन्देहीको सालझण्डीतर्फबाट मात्रै हुने गरेकाले ढोरपाटनले सधैँ सास्ती खेप्नुपरेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली बताए ।

अन्य योजनामार्फत काम गर्दा दोहोरोपन हुने भएकाले यो सडकमा कम चासो छ । सडक निर्माणमा ध्यान दिन अर्थ, पूर्वाधार, गृह र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भए पनि सडकको अवस्था उस्तै रहेको नगर प्रमुख नेपालीले गुनासो गरे ।

ढोरपाटन शिकार आरक्ष छेउमा रहेको देउरालीमा जनै पूर्णिमा मेला लाग्छ । धार्मिक मान्यताअनुसार ढोरपाटन नगरपालिकाका अधिकांश सर्वसाधारणले देउरालीको पूजा गरेपछि मात्रै मुक्ति पाइने मान्यता छ । मेलामा पुग्नेहरूको पनि ठूलो लर्को लाग्थ्यो । तर, सडकका कारण यस वर्षको वर्षायाममा सर्वसाधारणले दुःख भोग्ने निश्चित छ ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै बागलुङको ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको सात वर्ष बिते पनि बागलुङ खण्डको अझै स्तरोन्नति हुन नसक्दा समस्या भएको हो । बागलुङको राजकुत, दर्लिङ र ढोरपाटन क्षेत्रमा पर्ने सडकको दुरवस्थाका कारण स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पर्यटकीयस्थल र मुलुककै एक मात्र शिकार आरक्ष भए पनि ढोरपाटन पुग्न सास्ती खेप्नुपर्छ । बुर्तिबाङदेखि ३६ किमी पश्चिममा ढोरपाटन छ ।

बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्गको सडकले सहज यात्रा भए पनि त्यसपछि जोखिमको यात्रा गर्नुपर्छ । हरेक वर्षातमा खाल्डाखुल्डी पुर्ने काममा नगरपालिकाले लगानी गरिरहेको नगर प्रमुख देवकुमार नेपालीले बताए ।

‘यो वर्ष बागलुङ खण्डलाई दुई खण्डमा बाँडेर मेन्टेनेन्सको लागि ठेक्का भएको हो तर निर्माण कम्पनीले लकडाउनका कारण काम गर्न नसकेको भनेका छन्’, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका सब ओभरसियर नवीन पाण्डेले भने, ‘दुई-दुई करोड रुपैयाँका योजना हुन्, काम भए-नभएको हेर्न पुग्न पाइएको छैन, कोरोनाका कारण कार्यालय नै बन्द छ ।’ चालु आर्थिक वर्षमा उक्त सडक स्तरोन्नति गरेर ग्राभेल गर्नका लागि रु ६० करोडको बोलपत्र भएको पाण्डेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७