मातृका यादवको असंसदीय भनाइ रेकर्डबाट हटाउन सभामुखको रुलिङ


२९ श्रावण २०७८, शुक्रबार
matrika yadhav

काठमाडौं, २९ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक तथा भौतिक अवस्था ठीक नभएको भनेर माओवादी केन्द्रका सांसद मातृका प्रसाद यादवले गरेको विवादित टिप्पणीलाई संसद्को रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् ।

यादवले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा केपी ओली ‘मेन्टल्ली र फिजिकल्ली फिट’ हुनुहुन्न भन्ने अभिव्यक्ति दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले तत्कालै नियमापत्ति जनाएका थिए । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले ओलीमाथि गम्भीर आरोप लगाएका थिए ।

ओलीसहितका एमाले सांसदहरुले दोस्रो पटक पुनः स्थापित संसद र शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशबाट आएको बताइरहेका बेला यादवले आक्रोश पोखेका थिए । ‘जे पनि बोल्न पाइन्छ यहाँ ? मैले एउटै पार्टी (नेकपा) हुँदा भनेको थिएँ’, उनले नेकपा हुँदै प्रचण्डलाई दिएको सुझावबारे भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) चाहिँ मानसिक र भौतिक रुपमा ठीक हुनुहुन्न, कुनै बेला दुर्घटना हुन सक्छ ।’

यादवले ओलीको अवस्था मानसिक र भौतिक रुपमा ठीक नभएकाले नेकपा र सरकारको बोझ बोकाउन ठीक नहुने कुरा आफूले उतिबेलै बताएको स्मरण गरेका थिए । ‘ओलीको दुवै अवस्था ठीक छैन, यो बोझ किन बोकाउने ? जहाज उडाउँदा मेडिकल चेक हुन्छ’, उनले भने, ‘यस्तो मान्छेलाई देशकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन ? पार्टीकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन ?’
उनले ओलीकै कारण लगभग दुईतिहाइको कम्युनिष्ट सरकार ढलेर गठबन्धनको सरकार बनेको उनले बताएका थिए ।
एमालेको आपत्ति

ओलीबारे यादवले आपत्तिजनक टिप्पणी गरेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति गरेका थिए । उनले कसैको स्वास्थ्यबारे संसद जस्तो गरिमामय ठाउँमा यस्ता आपत्तिजनक टिप्पणी हुनु शोभनीय नभएको बताएका थिए ।

‘संसदमा बोल्नेले कसैलाई इंगित गरेर मानसिक रुपमा खराब भनेको कसरी? त्यो भन्ने अधिकार उहाँमा कहाँ छ ?’, उनले भनेका थिए, ‘के तथ्यका आधारमा उहाँले भन्नु भएको छ ? प्रत्येक सदस्यले एकअर्काकोबारे यसरी बोल्न मिल्छ कि मिल्दैन ?’ उनले यादवको अभिव्यक्ति अमर्यादित र आपत्तिजनक रहेको पनि बताएका थिए । भट्टराईले यादवको अभिव्यक्तिको उक्त अंश संसदको रेकर्डबाट हटाउन पनि माग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७